बझाङमा भूकम्पले ६ घर भत्किए, ३८ घरमा आंशिक क्षति
बझाङः बझाङमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण ६ घर क्षतिग्रस्त भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।
त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको अवस्थीले बताए। यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ।