डोटीमा भूकम्पः उपचारमा खटिन मुख्यमन्त्रीको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन निर्देशन दिएका छन्। मुख्यमन्त्री भट्टले खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।
उनले उद्धार तथा उपचारमा सहयोग गर्न अन्य सबै पक्षलाई आग्रह गरेका छन्। बुधबार बिहान २ः१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।
भट्टका स्वकीयसचिव प्रेम कुँवरले मुख्यमन्त्रीले सबै निकायलाई निर्देशन दिँदै तदारुकता देखाउन आग्रह गरेको जानकारी दिए। भूकम्पले गैरागाउँका आठ घरमा पूर्ण रूपमा क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।