पाकिस्तानमा डेँगुबाट २४ घन्टामा ५ जनाको मृत्यु
एजेन्सी: पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ।
पञ्जावमा मात्र आइतबार ४ जनाको ज्यान गएको बताइएको छ। त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ। पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ। सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ।
करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन्। साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ।
यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पुर्याएको थियो। दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरवारविहीन भएका छन्। बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेँगुको प्रकोप बढेको बताइएको थियो। तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।