सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रहरी, प्रशासनले रोक्यो, मलाई जोगाइदिनुस्ः सागर ढकाल 

२०७९ कार्तिक २१, ०६:४४ खबर संवाददाता

धनगढीः डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका सागर ढकालले डडेल्धुरामा प्रचार प्रसार गर्दा आफूमाथि रोक लगाइएको आरोप लगाएका छन्। गुल्मीका ढकालले सोमबार डडेल्धुरास्थित बसपार्क र तुफानडाडा क्षेत्रमा प्रचार गरिरहेका बेला आफ्नो समूहमाथि रोक लगाइएको आरोप लगाएका हुन्।

ढकालले प्रहरी प्रशासनले नै आफूलाई प्रचार-प्रसार गर्नमा रोक लगाएको दिनेशखबरलाई जानकारी दिए। उनले अस्ति प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति तथा आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवाले कार्यक्रम तथा चुनावी सभाहरु गर्दा रोक नलगाइएको पनि बताए। नियम, कानून सबैका लागि समान रहेको भन्दै देउवालाई जस्तै आफूलाई पनि प्रचार गर्न दिनुपर्ने उनको माग छ।

यस्तै उनले सामाजिक संजालमा पनि आफूलाई रोक लगाएको कुरा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्, जनता गुहार्नु बाहेक केही बाँकी रहेन। सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ।’

बीबीसीको साझा सवाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवालाई प्रश्न गर्दा ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने जवाफपछि चर्चित भएका ढकाल अक्सफोर्डको पढाइ सकेर डडेल्धुरामा देउवासँगै चुनावी प्रतिस्पर्धामा छन्।

तर, यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख मोहन जोशीले भने कुनै पनि उम्मेदवारलाई रोक नलगाइएको बताए। 

कमेन्ट लोड गर्नुस