कञ्चनपुरमा सीमा विवादः चुनावी एजेण्डा बन्छ, समाधान हुँदैन
धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका आनन्द बजारमा २०७३ फागुन २६ गते गोविन्द गौतमको गोली लागेर ज्यान गयो। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट उनको ज्यान गएको थियो। धनगढीबाट १० किलोमिटर दक्षिणी सीमावर्ती आनन्द बजारमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा एसएसबीले २५ वर्षीय गौतममाथि गोली प्रहार गरेको थियो।
भारतीय पक्षले एकपक्षीय कल्भर्ट बनाएको भन्दै नेपालीले विरोध गरेका थिए। उनलाई सरकारले सहिद घोषणा गरेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा सीमाना विवाद अहिले पनि कायमै छ। समस्या समाधनका लागि सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको सीमा क्षेत्रका स्थानीयको गुनासो छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु भने फेरि सीमा समस्या समाधान गर्ने भन्दै मत मागिरहेका छन्। सत्ता गठबन्धनबाट कञ्चनपुर–१ बाट उम्मेदवार बिना मगरले जिल्लाको दक्षिण क्षेत्रमा सीमाना विवाद समाधानको योजनासहित मतदाताको घर दैलोमा रहेको बताइन्।
उनले भनिन, ‘कञ्चनपुरमा नेपाल–भारत सीमाना विवाद छ। केही प्रक्रिया सुरु भएको थियो। तर समाधान भएको छैन। संघ सरकारलाई सीमाना विवाद समाधानका लागि पनि मेरो उम्मेदवारी हो।’ कञ्चनपुरको बेल्डाँगी, बेलौरी, पुनर्वास र भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा सीमा विवाद छ। बेल्डाँडी गाउँपालिका–३ मा रहेको ३३ नम्बर पिल्लरदेखि ३४ नम्बर पिलरसम्म सीमांकन गर्दा २०२८ सालदेखि भोगचलन गर्दै आएको र लालपुर्जा भएको सयौ परिवारको जमिन भारततिर पर्ने गरी नयाँ सीमाङ्कन गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–८ पचुईमा रहेको ३८ नम्बर स्तम्भलाई साक्षी स्तम्भको रुपमा मानिदै आएको थियो। तर अहिले स्ट्रिप नक्शा मा ३८ नम्बर स्तम्भलाई मुल सीमा स्तम्भ मानिएको छ। हुलाकी सडक समेत भारतीय भूमिमा परेको भन्दै निर्माणमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार सीमा विवाद समाधानका लागि नयाँ कुनै काम भएको छैन। सीमा–नाका क्षेत्रमा नयाँ कुनै समस्या पनि नआएको बताए। नेपालले भोगचलन गर्दै आएको र लालपुर्जासमेत भएको जमिन भारतले आफ्नो भन्दै आएको छ।
जिल्लाको ३७ नम्बर स्तम्भदेखि ३८ हुदै ३९ सम्मको नेपाली भू–भागमा भारतले दाबी गर्दै आएको छ। बेलौरी नगरपालिका वडा नम्बर १ र पुनर्वास नगरपालिका वडा नम्बर ४ को सीमा क्षेत्रमा पर्ने २०० नम्बर सीमा स्तम्भ गायब छ। सोही क्षेत्रमा गोविन्द गौतमको ज्यान गएको थियो।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको प्यारा ताल २०५८ सालसम्म जिल्ला विकास समिति, कञ्चनपुरले ठेक्का दिदै आएको थियो। तालभन्दा दुई सय मिटर दक्षिणमा १९५ नम्बरको सीमास्तम्भ थियो। सो स्तम्भ ढालिएपछि विवाद सुरु भएको छ।
बिजोर नम्बरको पिल्लर बनाउने जिम्मेवारी नेपाल पक्षको हो। तर बिजोर नम्बरको भएपनि यो सीमास्तम्भ पुनःस्थापना गरिएको छैन। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदार बनेकी मगरले सीमाना विवाद समाधानसँग बेलौरी भन्सार नाका पुनः सञ्चालनको योजनापनि रहेको बताइन्। नेपालका अन्य सीमा नाकासँग बेलौरी भन्सार नाका पुनःसञ्चालनका लागि प्रक्रिया सुरु गरेको उनको दाबी छ। नेपाल–भारतको खुल्ला सीमानाका कारण कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिक हैरान छन्। भारतीय सीमा सुरक्षा बल तथा तस्करहरुका कारण सीमा क्षेत्रका नागरिकले सधै असुरक्षित महसुस गर्दै आएका छन्।