प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकाल
नयाँदिल्लीः भारतको दिल्लीमा अत्यधिक वायु प्रदूषणपछि स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। साना बालबालिकालाई घरबाहिर निस्किनबाट रोक्न विद्यालयहरू बन्द गरिएका छन् भने कर्मचारीका लागि घरबाटै काम गर्ने सुविधा दिइएको छ।
भारतीय राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा नोभेम्बर महिनाको सुरुसँगै वायुमा प्रदूषणको मात्रा बढ्दै गएको छ। दूषित हावाले आम मानिसको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्ने रोगहरू देखा पर्न सक्ने चेतावनी आउन थालेपछि दिल्ली सरकारले थप सावधानी अपनाएको हो।
त्यसका साथै, वायु थप प्रदूषित हुन नदिन विभिन्न उपायहरू अपनाउन थालिएको छ। त्यसअन्तर्गत कक्षा ५ सम्मका विद्यालय बन्द गरिएको छ। सरकारी कार्यालयमा आधा कर्मचारीलाई कार्यालयबाट र आधालाई घरबाट काम गर्न भनिएको छ। ट्रक तथा डिजेलबाट चल्ने कार चलाउन रोक लगाइएको छ।