सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति परिस्थितिअनुसार चल्छ, यसमा स्थायी शत्रु र मित्र हुँदैन : प्रधानमन्त्री देउवा

२०७९ कार्तिक १८, ०९:५० खबर संवाददाता

डडेल्धुरा: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको जिकिर गरेका छन्। गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे।

सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे। राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो।प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधानलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको जिकिर गरे। कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाउन् भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर ससंद् र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उनको भनाइ थियो।

उनले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिए। आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कुटनीतिक पहलका आधारमा समाधान गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए। डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले पश्चिम सेती जलविद्युत् आयोजना, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका गतिविधि यस क्षेत्रमा अगाडि बढेको बताए।

प्रधानमन्त्री देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। रासस

कमेन्ट लोड गर्नुस