सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर–दक्षिण कोरिया क्षेप्यास्त्र हानाहान

२०७९ कार्तिक १८, ११:०९ खबर संवाददाता

सोलः उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रक्षेपण गरेको छ। यो उत्तर कोरियाले यस वर्ष परीक्षण गरेको सातौं क्षेप्यास्त्र हो । बिहीबार गरिएको आईसीबीएम क्षेप्यास्त्र करिब १ हजार ९ सय २० किलोमिटरको उचाइसम्म पुगेर असफल भएको दक्षिण कोरियाली सेनाको दाबी छ।

दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको सैन्य अभ्यासबीच उत्तर कोरियाले गरेको यो प्रक्षेपणलाई चासोका साथ हेरिएको छ। चुनावी अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र भड्काउपूर्ण कार्य’ को संज्ञा दिँदै आएको छ।

यसका साथै प्योङयाङले दुईवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गरेको छ। ती क्षेप्यास्त्र प्रक्षेपणलाई लिएर जापान सरकारले देशको उत्तरी भूभागमा रहेका स्थानीयलाई घरमै बस्न आग्रह गरेको थियो।

जापानी रक्षामन्त्री यासुकाजु हामादाले उत्तर कोरियाले गरेको उक्त क्षेप्यास्त्र परीक्षणको भर्त्सना गरेका छन्। उक्त क्षेप्यास्त्र आफ्नो देशको आकाशको बाटो हुँदै नगए पनि जापानी समुद्री क्षेत्रमा खसेको उनको भनाइ छ। उत्तर कोरियाली कदमले कोरियाली द्वीप र अन्तर्राष्ट्रियस्तरमा शान्ति तथा सुरक्षालाई खलल पुर्‍याएको अमेरिकाको दाबी छ।

उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्कातर्फ प्रहार गरेका दर्जनौं क्षेप्यास्त्र दुवै देशका तटस्थित पानीमा खसेका थिए। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। पछिल्लो घटनासँगै उक्त क्षेत्रमा दुई देशबीचको तनाव निकै बढेको आकलन गरिएको छ।

कमेन्ट लोड गर्नुस