चुनावी आमसभालाई सम्बोधन गर्दै देउवा भने– ‘खगराजजी जित्न योग्य मान्छे हुनुहुन्छ’
डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट जित्न योग्य मान्छे भएको बताएका छन्।
बिहीबार गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेशसभा १ का उम्मेदवार भट्टको प्रशंसा गरेका हुन्। उनले खगराज चुनाव जित्न योग्य व्यक्ति भएको बताए।
‘खगराजजीले कति राम्रो बोल्नुभयो। चुनाव लड्दा जितहार हुन्छ,’ विगतमा आफूसँग पराजित भएका भट्टको तारिफ गर्दै देउवाले भने, ‘विगतका चुनावमा उहाँले हार्नुभयो केही छैन। तर, उहाँ जित्न योग्य मान्छे हुनुहुन्छ।’
खगराजलाई भोट माग्दै देउवाले अगाडि भने,‘यसपालि उहाँलाई अत्यधिक बहुमतका साथ जिताऔं। उहाँले कति राम्रो काम गर्नुहुन्छ त्यो पनि हामीले हेर्नुपर्छ। मलाई जिताएर हेरिसक्नुभयो। अब उहाँलाई जिताएर हेर्नुपर्छ, उहाँमा काम गर्ने इच्छा पनि छ।’
उनले खगराजलाई बौद्धिक र अध्ययनशील नेता भएको पनि बताए।