कैलालीमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखियो, सतर्क रहन आग्रह
धनगढीः कैलालीमा बंगुर, सुँगुर र बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। भाइरसबाट लाग्ने यो माहामारी सुरुमा पूर्वी नेपालमा देखा परेपनि हाल कैलाली पनि देखा परेको हो। कैलालीको भजनी नगरपालिकामा बंगुर र सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको हो।
भजनी नगरपालिका वडा नम्बर ३ मा रहेको बडीमालिका बंगुर फार्ममा तीन सय १० बंगुर मरेपछि गरिएको प्रयोगशाला परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि भएको हो। भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्ममा मरेको बंगुरको मंगलबार मलिकुलर विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको हो। बंगुर, सुँगुर र बदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर कैलालीमा पनि देखा परेसँगै किसानहरूलाई जैविक उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रीए बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने पशुचिकित्सकले डाक्टर विशाल चन्दले बताए।
‘कैलालीको भजनीमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ,’ उनले भने, ‘बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट् भन्दामाथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने सक्छन्।’
अफ्रिकन स्वाइन फिभर जस्तै लक्षण बंगुरको हैजालगायतका अन्य रोगहरूमा पनि देखिने हुँदा रोग यकिन गर्न प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ। रोग लागेको थाहा हुने बित्तिकै संक्रमित बंगुर, सुँगुर र बँदेल अलग्गै राख्नुपर्ने हुन्छ। रोगी बंगुर, सुँगुर र बँदेलको ओसार–पसार र किनबेच नगर्न चिकित्सकले सुझाव दिएका हुन्।
कैलालीमा एकै फार्ममा ३ सय १० बंगुर अफ्रिकन स्वाइन फिभरका कारण मरेपछि सचेत हुनपर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए। ‘यो वर्ष अफ्रिकन स्वाइन फिभर कैलालीमा पनि देखिएको छ, यसबाट बंगुर किसानलाई ठूलो आर्थिक क्षति हुने जोखिम बढेको छ,’ उनले भने, ‘यो रोगको उपचार नभएकाले किसानहरूले जैविक सुरक्षामा ध्यान दिन आवश्यक हुन्छ।’
अफ्रिकन स्वाइन फिभर विरुद्ध हालसम्म कुनै खोप र रोग विरुद्ध प्रभावकारी उपचार छैन्। रोग महामारीको रुपमा फैलिएमा ठूलो आर्थिक क्षति गराउने हुँदा कुनै स्थानमा अस्वाभाविक रुपमा बंगुर मरेमा वा रोगका लक्षण देखिएमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा शाखामा खबर गर्न किसानलाई आग्रह गरिएको छ।
सुदूरपश्चिममा किसानहरूले ४७ हजार६९६ सुँगुर, बंगुर पालन गरिरहेको तथ्यांकले देखाएको छ। जसमध्ये २४ हजार बंगुर र सुँगुर कैलालीमा पालिएको छ भने करिव १४ हजार कञ्चनपुरमा पालिएका छन्। पहाडी जिल्लामा थोरै संख्यामा सुँगुर र बंगुर पालन हुने गरेको छ। अफ्रिकन स्वाइन फिभर पुष्टि भएसँगै थप फैलिन नदिन रोकथामका उपाय अपनाउने अधिकारीहरूले बताएका छन्।