कैलालीमा प्रधानमन्त्री कृषि परियोजना: कार्यान्वयन गर्ने निकाय तीन बर्षमा तीन फेरिए
कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने निकाय तीन बर्षमा तीन पटक फेरिएको छ। कार्यान्वयन गर्ने निकाय नै फेरिएपछि किसानहरुले बजेट पाउन सकेका छैनन्। कार्यान्वयन गर्ने निकाय फेरिएपछि परियोजना अन्तरगत सञ्चालीत ब्लक र पकेट कार्यक्रममा किसानले गत वर्षकै रकम समेत नपाएका हुन्। साविकको जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको २ ब्लक र ५५ वटा पकेटका कृषि कार्यक्रम गत बर्ष स्थानीय तहमा पठाईएको थियो भने यो बर्ष प्रदेश सरकारको कृषि ज्ञान केन्द्रमा पठाईएपछि अन्यौलता बढेको हो।
विगतमा ति कार्यक्रमहरु जिल्ला कृषि विकास कार्यालयले कार्यान्वयन गरिरहेको थियो। परियोजना अन्तगतको २ ब्लक र ५५ वटा पकेट कार्यक्रममा गत आर्थिक बर्ष २०७४÷०७५ मा विनीयोजन भएको एक करोड ३० लाख रकम किसानले अहिले सम्म पाउन सकेका छैनन्। जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि परियोजना कार्यान्वयन गर्ने अधिकार स्थानीय तहलाई दिइएको र स्थानीय तहमा कार्यान्वयनका लागि जनशक्ति नभएपछि समस्या भएको थियो। फेरी प्रदेश सरकार मातहत ल्याईपछि किसानन पनि अन्योलमा रहेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख गोकुल बोहरा पनि स्वीकार गर्छन्।
परियोजना कार्यान्वयन गर्ने निकाय फेरवदल भइरहेकै कारण गत आर्थिक बर्षको २ ब्लक र ५५ पकेटको रकम किसानले नपाएका बेला पुन चालु आर्थिक बर्षको १३ पकेट र ४ ब्लकको कृषि कार्यक्रम सञ्चालनका लागि रकम विनियोजना भएको उनले बताए। चालु आर्थिक बर्षमा ब्लक सञ्चालनका लागि एक करोड र पकेट सञ्चालनका लागि ६५ लाख रकम विनियोजन भएको छ।
कार्यक्रम सञ्चालन हुने स्थानीय तहले कृषक समुह छनौटको काम पनि गर्न सकेका छैनन्। चालु आर्थिक बर्षमा कैलारी गाँउपालिकामा आलु, तरकारी, तोरी र केराको पकेट, गौरीगंगा नगरपालिकामा मुङ र धानको पकेट, घोडाघोडी नगरपालिकामा तरकारी, च्याँउ र केराको पकेट र टिकापुर नगरपालिकामा तरकारी, च्याँउ, तोरी र केराको पकेट गरी १३ ओटा पकेट सञ्चालनको तयारी छ। चुरे गाँउपालिकामा सुन्तलाको एक ब्लक, जानकी गाँपालिका, भजनि नगरपालिका र लम्किचुहा नगरपालिकामा एक/एक धानका ब्लकहरु गरी नयाँ ४ ब्लक सञ्चालनको तयारी चालु आर्थिक बर्षमा छ।
गत आर्थिक बर्षमा कैलारी गाँउपालिकामा दुई ब्लक सञ्चालनमा छन्। ५५ ओटा पकेटमा धनगढी उप–महानगरपालिकामा ७, टिकापुर नगरपालिकामा ५, घोडाघोडी नगरपालिकामा ३, लम्किचुहा नगरपालिकामा ४, भजनि नगरपालिकामा ५, गोदावरी नगरपालिकामा ५, गौरीगंगा नगरपालिकामा २, जानकी गाँउपालिकामा २, मोहन्याल गाँउपालिकामा ३, कैलारी गाँउपालिकामा ७, जोशिपुर गाँउपालिकामा ४ र चुरे गाँउपालिकामा ८ सञ्चालनमा छन्। बर्दागोरिया गाँउपालिकामा भने पकेट कार्यक्रम छैन्।
परियोजना अन्तरगत १५ विगाह बराबर एक पकेट कार्यक्रम कार्यान्वयन गरिएको छ भने १ सय ५० विगाह बराबर एक ब्लक कार्यक्रम सञ्चालन गरिएको छ।