भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा
एजेन्सी: भारतले आज मङ्गलवारदेख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ। भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन्। एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ।
केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै ब्लक चेन प्रविधिमा आधारित हुने र यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिने भारतीय रिजर्भ बैंकले जनाएको छ। डिजिटल मुद्रा पनि नोट वा सिक्काजस्तै केन्द्रीय बैंकको नियमनमा चल्नेछ। डिजिटल मुद्राको मूल्य अहिले रहेको मुद्राकै बराबर हुनेछ।