सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी एक क्यान्सर पीडित बालिकाको उपचारमा समस्या

२०७९ कार्तिक १३, ०८:०६ खबर संवाददाता

डोटी: डोटीकी एक क्यान्सर पीडित बालिकाको उपचारमा समस्या भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ खत्याडीकी क्यान्सर पीडित १३ वर्षीया पूजा मिश्रको उपचारमा समस्या भएको हो।

उनको उपचारको लागि १४ देखि १५ लाख खर्च लाग्ने भएपछि समस्या भएको बुवा रमेश मिश्रले बताएका छन्। अहिलेसम्म ७/८ लाख खर्च भइसकेको बुवा रमेशले जानकारी दिएका छन्। मिश्रको पाखुराको हड्डीमा क्यान्सर भएको छ। उनको हाल बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवनमा उपचार भइरहेको छ।

यो भन्दा पहिला उनलाई भारतको बरेलीमा लगिएको थियो। त्यहाँ उनमा क्यान्सर देखिएपछि बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवन लगिएको हो। बुवा रमेशले छोरीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्। उनको उपचारमा आफूसँग भएको रुपैयाँ खर्च भइसकेकाले समस्या परेको भन्दै बुवा रमेशले विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन्।

सहयोग गर्न चाहनेले रमेश प्रसाद मिश्रको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर १३३०८०१०००००१६ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८४८४७४२४३ मा फोन गर्न सक्नेछन्। त्यस्तै, पूजाको उपचारका लागि भन्दै डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ ओजेली घर भई कामको लागि भारतको गोवामा रहेका महेन्द्र धामीले आर्थिक सङ्कलन अभियानको सुरुवात गरेका छन्।

अहिलेसम्म ४० हजार ५ सय ७३ रुपैयाँ ६ पैसा नेपाली रुपैयाँ सङ्कलन भएको धामीले जानकारी दिएका छन्। धामीले आफ्ना शुभचिन्तक सहित सबैलाई अभियानमा जोडिन सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस