ट्विटर किनेपछि इलन मस्क भन्छन्– ‘मुक्त भयो पन्छी’
काठमाडौँः ट्विटर खरिद प्रक्रिया सकिएसँगै संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले पन्छी मुक्त भएको बताएका छन्। ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले ‘दि बर्ड इज फ्रिड’ अर्थात् चरा मुक्त भयो लेखेका हुन्।
गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका हुन्। उनले ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरेका छन्। अग्रवाल २०२१ नोभेम्बरमा ट्विटरको सीईओमा नियुक्त भएका थिए।
बिहीबार एक ट्विट गर्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको भन्दै मानव सभ्यताको भविष्यका लागि ट्विटरजस्तो प्लेटफर्म आवश्यक भएको बताएका थिए।
गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए। ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो। मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए।
पैसा कमाउनका लागि आफूले ट्विटर खरिद नगरेको भन्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको बताएका छन्।
उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन्। हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्विटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ। आफूलाई वाक्स्वतन्त्रताको कडा पक्षधर बताउने मस्कले ट्विटरको सम्पूर्ण सामर्थ्य उजागर हुन बाँकी रहेको बताउँदै आएका थिए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा ट्विटरका विधान खुकुलो पार्ने अनुमान गरिएको छ।