सुदूर नेपाललाई विश्वसँग जोड्दै

आम चुनावमा कता ढल्किँदैछ बैतडीमा ‘स्वतन्त्र’ को टिम ?

तिहारपछि निर्णय

२०७९ कार्तिक ९, ०२:१६ टेकसिंह धामी

धनगढीः सरकारले मंसिर ४ मा संसदीय निर्वाचन घोषणा गरेपछि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरु चुनावी तयारीमा जुटिसकेका छन्। उनीहरुले घरदैलो तथा मत माग्ने अभियानहरु चर्काइरहेका छन्। शीर्ष नेताहरुले पनि चुनावी दौडधुप तथा देश दौडाह थालेका छन्। 

यही संसदीय निर्वाचनमा एउटा रोचक पाटो पनि देखिएको छ। त्यो रोचक पाटो हो देशभर दलका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारहरुको लहर। देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवार बनेर सांसद बन्नेहरुको लर्को छ। उनीहरु जनतामा पुराना दलहरुप्रति भएको निराशालाई हतियार बनाएर चुनाव जित्ने दाउमा छन्। 

उसो त चुनावका बेला किसिम किसिमका स्वतन्त्र उम्मेदवार उठ्छन्। कोही उम्मेदवार दलबाट टिकट नपाएपछि रातारात स्वतन्त्र हुन्छन्। कोही अहिलेसम्म कुनै दलमा नलागेकाले स्वतन्त्र हुन्छन्। कोही दलबाट टाढिएको केही समयपछि स्वतन्त्र, वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि यस्तै भएको थियो। तीमध्ये केहीले सानदार जित निकाले, कति गुमनाम भए। 

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवार थुप्रै छन्। अस्ति स्थानीय तहमा चुनाव जित्ने स्वतन्त्रहरुले यसपल्टको चुनावमा कसलाई सर्मथन गर्लान् ? आम जिज्ञासाको विषय बन्न पुगेको छ। 

बैतडीको डिलासैनीमा निर्वाचित सन्तोष जोशी
बैतडीमा सन्तोष जोशीले स्थानीय चुनावमा स्वतन्त्र जितेर इतिहास कायम गरे। उनले नेकपा एमाले, नेपाली काँग्रेसजस्ता ठूला दलका उम्मेदवारलाई हराएर डिलासैनी गाउँपालिकामा जित निकालेका थिए। उनले मात्रै होइन, डिलासैनीमा उनका ३ जना सहकर्मीहरु पनि वडाअध्यक्षमा निर्वाचित भएका छन्। डिलासैनीको वडा नम्बर ४, ५ र ७ मा स्वतन्त्रले जितेका हुन्। उनी स्वतन्त्र लड्नु अघि नेकपा एमालेमै आवद्ध थिए। तर, पछि पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र लडेर जित हासिल गरेका थिए। उनले अहिले एमाले त्यागेपछि आफू कुनै पनि दलमा नरहेको जनाएका छन्।  

अहिले उनै स्वतन्त्र जितेका जोशीले बैतडीमा संसदीय निर्वाचनमा कसलाई सर्मथन गर्छन् ? उनी र उनको टिम कतातिर ढल्किँदैछ ? यो भने खुलाइसकेका छैनन्। यद्यपी जोशीले बैतडी र डिलासैनीको विकास र समृद्धिका लागि खट्ने उम्मेदवारलाई आफ्नो र आफ्नो टिमको सर्मथन रहने बताएका छन्। उनले दिनेश खबरसँग कुराकानी गर्दै बैतडीको माटो, भूगोल र विकासका साथै न्यायका लागि लड्ने योग्य उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन्। तर, अहिलेसम्म बैतडीमा त्यस्तो एजेण्डा र योजना बोकेको कोही पनि उम्मेदवार नदेखिएको उनको दाबी छ। 

‘हामीले हिजो डिलासैनीको माटोको न्यायका लागि लडेका थियौ,’ उनले भने, ‘हाम्रो लडाइ विकासका लागि, समृद्धिका लागि र न्यायका लागि हो। विश्वले खुसी खोजिरहेको समयमा हामीले पनि जनताको खुसी र समृद्धिका लागि सोच्नु आवश्यक हुन्छ। त्यसकारण बैतडीका जनताको, यहाँका आधारभुत आवश्यकता, विकास निर्माणका लागि लाग्ने उम्मेदवारलाई हाम्रो सर्मथन रहन्छ।’ यस्तै विस्तृतमा तिहारपछि मात्रै कसलाई सहयोग र सर्मथन गर्ने भन्ने कुरा निर्णय गर्ने उनले बताए। अहिले आफूहरु छलफलमै रहेको उनको भनाइ छ। आसन्न  आम चुनावमा स्वतन्त्र मतहरु पनि निर्णायक हुने देखिन्छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई स्वतन्त्रहरुको झुकावले पनि ठूलो प्रभाव देखिने अवस्था छ। यद्यपि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुको प्रचार–प्रसारमा हिँड्न कडाइ गरेको छ। बैतडीमा नेकपा एमाले, गठबन्धन, स्वतन्त्र र अन्य दलहरुका उम्मेदवारहरु चुनावी मैदानमा छन्। 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस