सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राति देउसीभैलो खेल्न प्रशासनको रोक किन ?

सरकार बाधक भएको गुनासो

२०७९ कार्तिक ८, ०९:२४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा राति अबेरसम्म देउसी भैलो खेल्न प्रशासनले रोक लगाएको छ। कोरोना संक्रमण देखाएर गएका दुई वर्ष देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको स्थानीय प्रशासनले यो वर्ष भने शान्ति सुरक्षा र चुनावको कारण देखाउँदै देउसीभैलो खेल्ने समय सीमा तोकेको हो। सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन र प्रहरी कार्यालय कार्यालयहरुले सूचना सार्वजनिक गर्दै देउसी भैलो खेल्ने समय तोकेका छन्।

कैलालीमा राति १० बजेसम्म देउसी खेल्न पाइने भए पनि पहाडी जिल्लामा साँझ ७ बजेपछि खेल्न प्रतिबन्ध लागाइएको छ। गएका दुई वर्षमा कोरोनाको त्रास देखाएर देउसी भैलो खेल्न रोक लगाइए पनि यो वर्ष कोरोना संक्रमणको त्रास छैन। तर सर्वसाधारणले भने स्थानीय प्रशासनले शान्ति सुरक्षा र चुनाव देखाउदै देउसी भैलो खेल्ने समय सीमा निर्धारण गर्नु भनेको मौलिक चाडपर्व मनाउन राज्यले हस्तक्षेप गर्नु हो भन्दै आक्रोश व्यक्त गरेका छन्।

केही वर्षदेखि मौलिक चाडपर्व मान्दा राज्यले प्रहरी प्रशासन लगाएर रोक लगाउनु गलत भएको धनगढी– ३ का हरिकृष्ण जोशीको भनाइ छ। ‘प्रहरी प्रशासनले अचेल हाम्रा चाडपर्व मनाउँदा समय तोक्ने गरेको छ,’ उनले भने, ‘कहिले कोरोनाको नाममा, कहिले शान्ति सुरक्षाका नाममा उत्सव मनाउन रोक लगाउनु गलत हो।’ सुदूरपश्चिमका विभिन्न जिल्लामा देउसीभैलो खेल्न फरकफरक समय सीमा तोकिएको हो।

रोगको संक्रमणको त्रास नभएपनि देउसी भैलो, जात्रा, मेला र होली जस्ता परम्परागत चाड पर्व मनाउन सरकार नै बाधक हुने गरेको गुनासो गरिएको छ। बाहना जे गरे पनि सरकारी पक्षले सांस्कृतिक समारोह, जात्रा मेला र चाड पर्वबारे चेतावनीको भाषामा यस्तो गर्नू, उस्तो नगर्नू भन्नु गलत भएको डडेल्धुराका मोहन पाण्डेले गुनासो गरेका छन्।

‘मौलिक परम्परामा सरकारी पक्षाबाट नै प्रहार हुँदै आएको छ,’ उनले भने, ‘शान्ति सुरक्षाको नाममा चाडपर्व मनाउन रोक लगाउनु गलत छ।’ जिल्ला प्रहरी कार्यालय अछामले चुनाव भएका कारण शान्ति सुरक्षालाई ध्यानमा राखेर साढे ७ बजेपछि देउसी खेल्न रोक लगाएको छ। अछाम प्रहरी प्रमुख नारायण डाँगीले रक्सी खाएर होहल्ला गर्ने झगडा गर्ने भएकाले रोक लगाउनु परेको बताएका छन्।

‘शान्ति सुरक्षा र चुनावको कारण समय निर्धारण गरिएको हो,’ उनले भने, ‘रक्सी नखाएर, होहल्ला झैझगडा नगरेर तिहार रातभरि मनाए पनि भयो तर रक्सी खाएर होहल्ला र झगडा गर्छन् भनेर समय तोकिएको हो।’ यो वर्ष विभिन्न जिल्लामा देउसी भैलो खेल्न स्थानीय प्रशासनले भिन्न भिन्न समय सीमा तोकेको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले ९ बजेपछि देउसीभैलो खेल्न नपाइने सूचना सार्वजनिक गरेको छ। बैतडीमा ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने प्रशासनले जनाएको छ। डडेल्धुरामा भने साँझ ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख मनोहरप्रसाद भट्टले बताए।

पहाडी जिल्लामा शान्ति सरक्षामा खलल पर्ने भन्दै साँझ ७ बजेपछि देउसी भैली खेल्न रोक लगाए पनि कैलालीमा भने राति १० बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। तर प्रदेशका सबै जिल्लाहरुमा देउसीभैलोका लागि समय सीमा निर्धारण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले कैलालीमा १० बजेसम्म देउसीभैलो खेल्न पाइने बताएका छन्। सरकारी पक्षले विभिन्न बाहनामा स्थानीय चाड, पर्व, मेला र जात्रा मनाउन रोक लगाउन नहुनेमा सर्वसाधारणको जोड छ। तर प्रशासनले आफ्नो सजिलोका लागि समय निर्धारण गर्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस