विमानस्थलमा कोरियन जहाज चिप्लिएपछि...
धनगढीः कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्रममा धावन मार्ग छोडेको हो।
भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा जहाज धावनमार्गबाट चिप्लिएको हो। जहाजमा १७२ यात्रु र ११ जना चालक दलका सदस्य थिए। उनीहरूलाई सकुशल जहाजबाट निकालिएको छ।अधिकारीहरूले कोरियन एयरको जहाज निकाल्ने प्रयास भइरहेको बताएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको छ।