सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ‘एमाले हराउ अभियान’मा समाजवादी, पूर्वमन्त्री बीनाको अवस्था के ?

२०७९ कार्तिक ७, ११:२४ कमल सावद

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन्। तर पूर्वमन्त्री बीना मगर र निवर्तमान सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ मुख्य प्रतिस्पर्धी हुन्। प्रतिनिधिसभा सदस्यका लागि खेम सुवेदी, जगतबहादुर सायल र हरिनादेवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

उनीहरु अहिले चुनाव प्रचार-प्रसारमा छन्। तारा लामा तामाङ एमालेबाट, दिल्लीबहादुर शाही राप्रपाबाट, देवराज जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट, नन्दकुमार राना नागरिक उन्मुक्ति र नन्दादेवी जोशी नेपाल मजदुर किसान पार्टीबाट चुनावी मैदानमा छन्। यता बिना मगर माओवादी केन्द्रबाट र रामकिसन राना लोकतान्त्रीक समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्। 

एकीकृत समाजवादीले भने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको छैन। समाजवादी पार्टी एमाले हराउ अभियानमा छ। एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवन थापाले प्रतिनिधिसभा सदस्यमा बीना मगरलाई दिने कुरा भएको बताए। तर, प्रदेशसभामा गठबन्धन नभएको उनले बताए। ‘हाम्रो मेन ट्रागेट भनेको एमाले हराउ हो। व्याक्तिगत हैन। तर, पार्टीगत चै एमालेलाई सहयोग हुँदैन। तीन दल मिलेपछि एमाले धेरै अन्तरले हार्छ,’ थापाले भने।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर-१ मा माओवादी केन्द्र, काँग्रेस, समाजवादीलगायतका दलबाट पूर्वमन्त्री मगर साझा उम्मेदवार हुन्। तर, प्रदेश सभासदस्यमा उनीहरुबीच चुनावी तालमेल छैन्। माओवादी केन्द्रकी उम्मेदवार मगर बेलौरीमा भन्सार कार्यालय स्थापना गर्ने मुख्य योजना लिएर चुनावी मैदानमा छिन्। मन्त्री भएका बेला अधुरा रहेका खानेपानीलगायतका योजना पूरा गर्ने उनले बताइन्। तर तिहारपछि मात्र घोषणा पत्र तयार हुने मगरले दिनेशखबरसाँग बताएकी छिन्।

‘बेलौरी भन्सारका बिषयमा एक प्रोसेस भएको थियो। दुबै देशको बिचमा छलफलसमेत भएको थियो। नेपालमा नयाँ पाँच वटा भन्सारको बिषयमा छलफल भएको थियो। अहिलेका लागि स्थगित भएका छन्। पुनः बेलौरी भन्सारका बिषयमा छलफल गरेर खुलाउँछौ,’ मगरले भनिन्।

लालपुर्जा वितरण, कृषिमा आधुनिकिकरण, सडक, लालझाडीमा थारु/राना होमस्टे, लालझाडी–बेलौरीमा शिलान्यास गरिएका अस्पतालको काम पूरा गर्न, ढलको व्यवस्थापन, खानेपानीका आयोजना थप गर्न, शिक्षा क्षेत्रमा बजेट विनियोजन, सरकारी विद्यालयमा भौतिक संरचना लगायतका योजनासहित चुनावी मैदानमा रहेको मगरले बताइन्। काँग्रेस र समाजवादीको पनि सहयोग रहेकाले जित सुनिश्चत रहेको उनको दाबी छ। 

कञ्चनपुरमा नेकपा एमालेको संगठन अझै बलियो रहेको एकीकृत समाजवादीका नेताहरुले नै बताउने गरेका छन्। एमाले विभाजनपछि केही सँख्यामा मात्र नेता समाजवादीमा गएका हुन्। समाजवादीमा गएका नेता तारालामा तामाङ एमालेमा फर्किएर उम्मेदवार बनेका छन्। उनले एकीकृत समाजवादीसँग नेता/कार्यकर्ता नभएको तर्क गरेका छन्।

‘जनतालाई भोट माग्दा खेरी यही ठाउँको जनतालाई प्रतिनिधि बनाउन भनिरहेको छु। यो ठाउँको विकास र सम्वृद्धिका लागि मत मागिरहेको छु। यो ठाउँको विकासका लागि एमालेको सरकार आवश्यक छ। एमालेको उम्मेदवारलाई विजयी गराउन हाम्रा संगठनहरु लागिरहेका छन्,’ सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका तामाङले भने।

तर, जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन रहेकाले एमालेका उम्मेदवारलाई संकट रहेको आकलन गरिएका छन। एमालेका उम्मेदवार तामाङ संगठनको भरमा चुनावी मैदानमा उत्रिएका हुन्।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस