सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी: सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रचेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उनी पुनः पार्टीको महासचिवमा निर्वाचित भए। अब उनी पाँच वर्षसम्म यही पदमा रहनेछन्।चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन्। सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गरेका छन्।
आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गरे। केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ। ली चीनको नयाँ प्रधानमन्त्री बन्नेछन्। उनले ली खछ्याङलाई प्रतिस्थापन गर्नेछन्।
पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।