धनगढीमा पुर्चौडी समाजको रगत संकलन कार्यक्रम, कतिले गरे रक्तदान ?
धनगढी: पुर्चौडी समाज धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार धनगढीमा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको समाजका सचिव धर्मराज जोशीले बताए।
धनगढीमा रगतको अभाव भएको भन्दै समाजले रक्तदाताबाट रगत संकलन गरेको हो। रक्तदान कार्यक्रमको अध्यक्षता समाजको धनगढी शाखाका अध्यक्ष वेदप्रकाश जोशीले गरेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशी रहेका थिए।
कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट, पूर्व प्राचार्य कर्णबहादुर कुँवर, मालिकार्जुन दार्चुला सेवा समाजका अध्यक्ष महेन्द्रराज पन्त, पुर्चौडी समाज महेन्द्रनगरका सचीव प्रोहित बडूलगायतको उपस्थिति रहेको थियो। समाजले आयोजना गरेको रक्तदान र शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन समाजका धनगढी शाखाका सचिव धर्मराज जोशीले गरेका थिए। यस्तै कार्यक्रममा रक्तदान गर्नेहरुलाई सम्मान पनि गरिएको थियो।