प्रधानमन्त्री देउवाको गृहजिल्लामा ‘नो इलेक्ट्रिसिटी नो भोट’ भन्दै आन्दोलन
धनगढी: प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बिजुलीको समस्या भएको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ चामाका स्थानीयहरु विद्युत सेवाको माग गर्दै आन्दोलित भएका हुन्।
संसदीय निर्वाचनको मुखैमा उनीहरुले विगतदेखि नै उम्मेदवारहरुले बिजुली पुगाउने भनेर झुटो आश्वासन दिएको तर अझै बिजुली नपुगेको भन्दै विरोध अभियान थालेका हुन्। उनीहरु ‘नो इलेक्ट्रिसिटी नो भोट।’ भन्ने नारासहित आन्दोलनमा उत्रिएका छन्।
उक्त गाउँ लगायत डडेल्धुरा धेरै ठाउँमा विद्युत पुग्न सकेको छैन्। नेपाल विद्युत प्राधिकरण डडेल्धुरा शाखाका प्रमुख राम दिनेश राय यादवका अनुसार डडेल्धुरामा अझै २० प्रतिशत नागरिक बिजुलीबाट वञ्चित रहेका छन्। देउवा अहिले डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन्।