सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्षेत्र नम्बर ५ः प्रतिनिधिसभामा त्रिपक्षीय भिडन्त

२०७९ कार्तिक ३, ०८:०५ नारायण अवस्थी

धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा त्रिपक्षीय भिडन्त हुने भएको छ। क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि राना, गठबन्धनका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा हुने देखिएको हो।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन्। तर मुख्य तीन उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर संगठन परिचालन गर्न र मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेबाट नारदमुनि राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीबाट नन्दाकुमारी दर्लामी मगर र लोकतान्त्रिक समाजवादीबाट दानबहादुर विश्वकर्मा चुनावी मैदानमा छन्। यस्तै पुष्करनाथ ओझा, गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उम्मेदवारहरु अहिले मतदातासँग आफ्ना लागि भोट माग्न व्यस्त छन्।

कैलाली-५ मा २०७४ मा नेकपा एमालेका नारादमुनि रानाले काँग्रेस नेतृ आरजु राणा देउवालाई पराजित गरेका थिए। यो पटक राना दोस्रो कार्यकालका लागि उम्मेदवार छन्। उनले विकास, समृद्धि र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेले जित्नुपर्ने र पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउदै मतदाताले जिताउने बताउदै आएका छन्। रानाले मंगरबारदेखि सबै वडामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरेर मतदातासँग भेट गरिरहेको बताए। "मंगलबारदेखि निर्वाचन क्षेत्रमा पर्ने २१ वटै वडामा पार्टीको सम्पर्क कार्यालय खोल्ने काम भएको छ, अहिले भेटघाट र सरसल्लाहमा व्यस्त छौँ," उनले भने, "विकास, समृद्धि र राष्ट्र र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेले जित्छ जरुरी छ, मैले यो क्षेत्रमा विकास निर्माणकाका थुप्रै काम गरेको छु, जनताले मलाई फेरि जिताउँछ्न्।"

२०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य विजयी भएका नेपाली काँग्रेसका नेता डिल्लीराज पन्त गठ्बन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार छन्। गठ्बन्धनले पनि २१ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ। गठ्बन्धनमा आवद्ध दलहरुका संगठन परिचालन गर्न र समुदायमा मतदाता र समर्थकहरूलाई भेट्न व्यस्त रहेको पन्तले बताएका छन्। छन।बलियो संगठन र जनमत आफ्नो पक्षमा रहेकाले चुनाव जित्न सहज हुने पन्त बताउँछन्। "हामी अहिले गठबन्धनमा रहेका दलका वडामा रहेका संगठन परिचालन गर्न समर्थक र कार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छौँ, मतदाताहरू खेतबारीमा व्यस्त हुनुहुन्छ," उनले भने, " हाम्रो संगठन बलियो छ, जनाधार पनि छ, चुनावमा उठेका सबै उम्मेदवार मेरालागि उत्तिकै प्रतिस्पर्धी हुन् तर मतदाताले गठबन्धनलाई नै जिताउने छन्।"

सत्ता गठबन्धन र नेकपा एमालेलाई टक्कर दिनसक्ने स्वतन्त्र उम्मेदवारका रुपमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पुष्करनाथ ओझालाई हेरिएको छ। दलहरूसँग मतदाता रुष्ट भएकाले धनगढीको आत्मसम्मान र विकासका लागि भोट माग्न आफू घर दैलोमा व्यस्त रहेको स्वतन्त्र उम्मेदवार ओझाको भनाइ छ। "म धनगढी र धनगढीवासीको आत्मसम्मान र विकासका लागि मत माग्दै छु, दलहरू जनताका सम्पत्ति हुन् तर केही वर्षयता व्यक्तिगत सम्पत्ति भए, त्यसैले दलसँग जनता रूष्ट छन्," उनले भने, "कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को समग्र विकास र आत्मसम्मानक लागि मतदाताले मलाई भोट हाल्छ्न् र म चुनाव जित्छु।"

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका २ वडासहित २१ वडा रहेका छन्। गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार अहिले चुनाव प्रचारप्रसारमा छन्। उनीहरु सबै वडामा सम्पर्क कार्यालय खोल्न र समर्थक भेटघाट र संगठन परिचालनका लागि रणनीति बनाउन व्यस्त देखिएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस