कञ्चनपुरमा क्याम्पस प्रमुख नै चुनावी प्रचारप्रसारमा
धनगढी: कञ्चनपुरको एक क्याम्पसका प्रमुख नै चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को कृष्णपुर नगरपालिका वडा नम्बर २ को बंकमा रहेको उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी गठबन्धनको चुनावी प्रचार प्रसारमा व्यस्त रहेको स्थानीयले बताएका छन्।
गठबन्धनका उम्मेदवारहरूको तीव्र प्रचारप्रसारमा लागेका सेठीले सामाजिक सञ्जालमा उम्मेदवारहरूको पक्षमा प्रसस्त लेखेका छन् भने राजनीतिक कार्यक्रम र घरदैलोमा गठबन्धनका उम्मेदवारका लागि मत माग्ने गरेको स्थानीयले बताएका छन्।
क्याम्पस प्रमुख रहेका सेठी पार्टीको जिम्मेवारीमा पनि रहेको खुलेको छ। आफू लालझाडी गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको इन्चार्ज रहेको सेठीले दिनेशखबरलाई बताएका छन्।
उनले गठबन्धनका उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेख्ने र कार्यक्रममा सहभागी हुने गरेको स्वीकार गरेका छन्। अहिले क्याम्पस विदा रहेकाले प्रचारप्रसारमा लागेको क्याम्पस प्रमुख सेठीले बताएका छन्।
'म उदय सरस्वती क्याम्पसको प्रमुख हुँ र नेकपा माओवादी केन्द्र लालझाडी गाउँपालिकाको इन्चार्ज पनि हुँ,' उनले भने, 'अहिले क्याम्पस बिदा भएकाले प्रचारमा लागेको छु, कात्तिक १४ गतेबाट क्याम्पस खुल्छ त्यसपछि पार्टीबाट पनि राजीनामा दिन्छु र प्रचार पनि गर्दैन।'
लालझाडी गाउँपालिकाका माओवादी केन्द्रको इन्चार्ज पनि हुने क्याम्पसको प्रमुख पनि हुने यो त निर्वाचन आचारसंहिता र विद्यमान कानुनको उल्लंघन हो नि, अध्यापक जस्तो मान्छेले पार्टीको कार्यकर्ता हुन अफ्ठारो लागेन? भन्ने प्रश्नमा सेठीले कात्तिक १४ गतेपछि पार्टी छोडेर क्याम्पसको मात्रै काम गर्ने बताए।
सामाजिक सञ्जाल फेसबुकमा क्याम्पस प्रमुख सेठीले चुनावी भेलामा कार्यकर्तालाई बोलाउने, कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका गठबन्धनका प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा भोट मागेको देखिन्छ। उनी निर्वाचन क्षेत्र नम्बर १ को गठबन्धनको मुल प्रचार प्रसार समिति सदस्य पनि रहेको खुलेको छ। तर सार्वजिनक पद धारण गरेको व्यक्तिले पार्टी कार्यकर्ता भएर चुनावी प्रचार गर्न नपाउने कानुनी व्यवस्था छ।