कैलाली–३ मा पुराना दलहरुलाई नागरिक उन्मुक्तिको भय
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। मंसिर ४ गतेको चुनावमा जित हात पार्न सबै उम्मेदवार मतदातासँग भेट गर्न व्यस्त छन्। सबै उम्मेदवारले पहिलो चरणमा गाउँ-टोल र बस्तीमा पुगेर आफ्ना समर्थकको संख्याबारे आकलन गरिरहेका छन्।
कैलाली क्षेत्र नम्बर ३ मा मुख्य रुपले चार दलको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तर पुराना दलहरुलाई नागिरक उन्मुक्ति पार्टी भारी पर्ने संकेत उक्त निर्वाचन क्षेत्रमा देखिएको छ।
८ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी दौडमा रहे पनि चार जनाले आफूले नै जित्ने दाबी गरेका छन्। यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी (कुन्दन), नेकपा एमालेबाट पूर्व मन्त्री गौरीशंकर चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीबाट गंगादेवी पौडेल, नेकपा (माले)बाट परेकबहादुर रावल, रमेश आचार्य र नवीनकुमार बोहराले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
तर यो पटक कैलाली-३ का मतदाताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउने सल्लाह गरिसकेको राप्रपाका उम्मेदवार वीरेन्द्रबहादुर बमको दाबी छ। ‘यो पटक यहाँका मतदाताले पूराना दल र उम्मेदवारलाई भोट नदिने भनेका छन्,’ उनले भने, ‘मतदाताले चुनावमा राप्रपाको चुनाव चिन्ह हलोमा भोट दिएर वीरेनद्रबहादुर बमलाई जिताउने सल्लाह भैसकेको छ।’
बैशाखमा भएको स्थानीय तहको चुनावमा कैलालीमा पहिलो बनेको नयाँ दल नागरिक उन्मुक्ति पार्टी अन्य राजनीतिक दलहरुका लागि भारी पर्ने संकेत देखिएको छ। स्थानीय तहको निर्वाचनमा पूर्वी कैलालीमा आफ्नो प्रभाव देखाएको नागिरक उन्मुक्तिले प्रतिनिधिसभा सदस्यको चुनाव पनि जित्ने दाबी गरेको हो। नागरिक उन्मुक्तिसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार गंगाराम चौधरीले बताए। ‘हामीसँग चुनाव जित्न मुद्दा छन्, हामी नयाँ पनि छौँ, पुराना दलसँग हाम्रो प्रतिस्पर्धा नै हुँदैन, ’ उनले भने, ‘कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को संघ र प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सानदार जित हुन्छ।’
संविधान सभा सदस्य कृष्णकुमार चौधरी कुन्दन पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। उनले कैलाली-३ मा गठबन्धन दलको सबै भन्दा बढी मत रहेकाले दुई तिहाइले विजयी हुने दाबी गर्दछन्। ‘यो क्षेत्रमा सबैभन्दा बलियो गठबन्धन हो, हामीसँग अरूको तुलना नै हुन्न, उनले भने, यो क्षेत्रमा हामी दुई तिहाइ मतले जित्छौँ।’
कैलाली-३ मा २०७० र २०७४ मा पूर्व मन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रबाट चुनाव जितेका थिए। नेकपा माओवादी केन्द्रबाट दुई पटक जितेका चौधरी अहिले भने नेकपा एमालेका उम्मेदवार हुन्। उनी तेस्रो पटक चुनाव जित्ने दाउमा छन्। निर्वाचन क्षेत्रमा आफूले सुरू गरेका विकास निर्माणका काम पूरा गर्न जनताले फेरि मत दिने विश्वास नेकपा एमालेका उम्मेदवार चौधरीको छ। ‘यो क्षेत्रबाट अहिले पनि मैले नै चुनाव जित्छु, उन्मुक्तिले जित्ने आधार नै छैन भने गठबन्धनका उम्मेदवार पाहुना हुन्, ‘उनले भने, ‘यो क्षेत्रको स्थानीय त म हुँ, मैले नै चुनाव जित्छु।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका ८ जना उम्मेदवारमध्ये ४ जना उम्मेदवारले आफूले नै जित्ने दाबी गरेका हुन्। अहिले मतदातालाई रिझाउन व्यस्त उम्मेदवारमध्ये संगठन र जनाधारका हिसाबले गठबन्धन, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित ४ दलको प्रतिस्पर्धा हुने अनुमान छ।