कैलालीमा काँग्रेसले बागी उम्मेदवारसहित १० जनालाई पार्टीबाट निकाल्यो
धनगढीः कैलालीमा काँग्रेसले १० जना नेता तथा कार्यकर्तालाई पार्टी निकाला गरेको जनाएको छ। नेपाली काँग्रेसको जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरिएको जनाएको हो।
काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको छ। यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो।
कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (२) मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२)की भगवती पाठक रहेकी छन्।
यस्तै भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीकाट निकालिएका छन्। त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए।