सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब सुदूरपश्चिमको मुख्यमन्त्री को ? दौडधुपमा गठबन्धनका नेताहरु 

एमालेमा छैन हल्ला-खल्ला

२०७९ असोज ३०, ०७:०६ रोशन भट्ट

धनगढीः प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै छ। मंसिर–४ मा हुने निर्वाचनका लागि नेताहरु उम्मेदवार दर्ता गरेर प्रचारप्रसारमा छन्। यसैबीच सुदूरपश्चिममा अबको मुख्यमन्त्री को हुन्छ ? भन्ने चर्चा सुरु भएको छ। विशेष गरी चुनावमा होमिएका राजनीतिक दलहरु पार्टीभित्रै मुख्यमन्त्रीको उम्मेदवार खोज्नतर्फ लागेका हुन्। 

सत्ता गठबन्धनको नेतृत्व गरीरहेको नेपाली काँग्रेसले अब सुदूरपश्चिम सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेको छ। जसका लागि पार्टी भित्र विभिन्न उम्मेदवार यसकै कसरतमा समेत लागेका छन्। चुनावपछि अपेक्षित नतिजा आए मुख्यमन्त्रीमा आफूपनि आकांक्षी भएको काँग्रेसका नेता डा. रणबहादुर रावलले बताए। ‘चुनावको नतिजा कस्तो आउँछ। त्यो भने हेर्न बाँकी छ। तर, मेरो पार्टीबाट म नै अघि सर्छु लागेको छु,’ उनले भने।

सत्ता गठबन्धनकै दोस्रो ठुलो दल माओवादी केन्द्र पनि सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छ। यसका लागि पार्टीले प्रदेश इन्चार्जसमेत रहेका माओवादी नेता खगराज भट्टलाई अघि सारेको छ। उनलाई यसपटक गठबन्धनले साँझा उम्मेदवार बनाएको छ। डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका भट्ट पनि मुख्यमन्त्रीकै कसरतमा छन्। प्रदेश सरकारको नेतृत्व गर्नकै लागि प्रदेश सभाको चुनाव लडेको भट्टको दाबी छ।

‘गठबन्धनले के निर्णय गर्छ। त्यो छलफलको विषय हो,’ उनले भने, ‘तर, मेरो   पार्टीले प्रदेशको मुख्यमन्त्रीका लागि मलाई नै जिम्मेवारी दिन्छ।’ अहिले पनि सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले गरिरहेका छन्।

सत्ता गठबन्धनको सामान गर्नका लागि एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले भने अहिले नै मुख्यमन्त्रीको उम्मेदवार तय गरेको छैन। पार्टीभित्र तथा कार्यकर्ता वृतमा पनि यस्तो हल्ला चलेको छैन। प्रदेशका अधिकांश सिटमा आफ्नै उम्मेदवार उठाएको एमालेमा मुख्यमन्त्रीको चर्चा चुनावपछि मात्रै हुने बताइएको छ।

पार्टीका अधिकांश उम्मेदवार जिम्मेवारी सम्हाल्न तयार रहेको दाबी एमालेको छ। प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले ल्याएको नतिजापछि मात्रै सरकार बनाउने विषयमा छलफल हुने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकको भनाई छ। ‘हामीले अहिले नै त्यो छलफल चलाएका छैनौं। चुनाव कसरी जित्ने भन्नेमा हाम्रो ध्यान छ। तर, मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरु पनि चुनावी मैदानमा छन्,’ उनले भने।

सत्ता गठबन्धनमै जोडिएको एकीकृत समाजवादीले भने अपेक्षाअनुसार प्रदेशमा सिट नै पाएको छैन। त्यसकारण उक्त पार्टी भित्र मुख्यमन्त्रीको चर्चा खासै छैन। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेशसभाका ३२ सिटका लागि प्रत्येक्ष निर्वाचन हुँदैछ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस