सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु
काठमाडौंः रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो। युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन। उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ। ‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ।
आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ। उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन।