नेता राख्ने इरानको जेलमा आगलागी
काठमाडौंः इरानको एक जेलमा आगलागी भएको छ। राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इभिन जेलमा आगलागी भएको हो। आगलागीबाट क्षतिको विवरण आइसकेको छैन।
सामाजिक सन्जालमा सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ। त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ।
सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा रहेको बताए पनि आगलागी जारी रहेको देखिएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार जेलमा आगलागीको घटना सोही प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन।
सरकार विरोधी समूहले सार्वजनिक गरेको एक भिडियोमा जेलभित्रबाट तानाशाहको मृत्यु भन्दै नारा लगाएको सुनिन्छ। अर्को एक भिडियोमा भने जेलको बाहिरबाट गोली चलाएको देखिन्छ। त्यसपछि विष्फोटको आवाज सुनिन्छ।