प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीमाथि भारी परे ‘पीए’हरु,
धनगढीः प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि बुधबार अन्तिम नामावली प्रकाशन गरिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार चुनाव चिह्नसमेत प्रदान गरेको छ।
सुदूरपश्चिमको अन्तिम नामावली भने रोचक देखिएको छ। सुदूरपश्चिममा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीका स्वकीय सचिव(पीए)हरु भारी पर्ने देखिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व स्वकीय सचिव कर्णबहादुर मल्लले डडेल्धुराबाट उम्मेदवारी दिएका छन्। मल्लले नेपाली काँग्रेस (विपी)बाट देउवाविरुद्ध उम्मेदवारी दिएका हुन्। बुधबार अन्तिम नामावली प्रकाशन भएसँगै मल्ल यतिबेला मतदाता रिजाउन व्यस्त छन्।
यता कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा पनि स्वकीय प्रतिस्पर्धी छन्। राष्ट्रिय जनता पार्टीबाट २०७४ सालमा निर्वाचित कृष्णबहादुर चौधरी र उनका तत्कालिन स्वकीय सचिव कैलाश चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो। नागरिक उन्मुक्ति पार्टीका कैलाली अध्यक्ष समेत रहेका कैलाशको ढकिया चुनाव चिह्न छ। कृष्ण आफ्नै पूर्व स्वकीय सचिवसविरुद्ध निर्वाचनमा होमिएका हुन्। कृष्णले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश सभा सदस्यको निर्वाचनका लागि चिह्न पाएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीलाई भने स्वीकय सचिव नै भारी परेका छन्।
मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओली भट्टको टिकट खोसेर चुनावी मैदानमा छन्। कृषिमन्त्री चौधरीको टिकट पनि उनका स्वकीय सचिव दीर्घराज विनाडीले हात पारेका छन्। ओली र विनाडीले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडो लिएर चुनावी मैदानमा छन्।
यस विषयमा मुख्यमन्त्री भट्ट र मन्त्री चौधरीले भने आधिकारिक धारणासमेत सार्वजनिक गरेका छैनन्।
सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीका स्वकीय सचिव दीर्घराज विनाडी कैलालीको निर्वाचन क्षेत्र नबर १ को १ बाट निर्वाचन लड्दैछन् भने मुख्यमन्त्रीका स्वकीय सचिव ओली डोटीको प्रदेश सभा २ बाट निर्वाचन लड्दैछन्।
प्रतिनिधिसभा सदस्यको टिकटका लागि दौडमा रहेका मुख्यमन्त्री भट्ट र मन्त्री चौधरीले गठ्बन्धनका कारण टिकट पाएका हैनन्। प्रतिनिधिसभा सदस्यको टिकट नपाउने देखिएपछि प्रदेशसभा सदस्यमा दोहोरिने चाहना दुवैको थियो। तर पार्टीले स्वकीय सचिवलाई टिकट दिएको छ।
यस्तै कैलाली क्षेत्र नम्बर ५ को २ मा प्रधानमन्त्री पत्नी आरजु देउवाका स्वकीय सचिव प्रकाश देउवाले टिकट पाएका छन्।