सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा किन पछि हट्यो एमाले ? फिर्ता भएका स्नेही भन्छन् –माथिको आदेश

२०७९ असोज २६, ०३:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जसमा प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका चक्र स्नेही पनि रहेका छन्।

एमाले केन्द्रले नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताएका छन्। तर एमाकलेकै बागी उम्मेदवार बनेका विक्रमबहादुर शाहीले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।

यस विषयमा चक्र स्नेहीले भने धेरै बोल्न चाहेनन्। उनी भन्छन्, ‘मैले फिर्ता लिएको हैन माथि केन्द्रबाट फिर्ता लिन लगाइयो।’ उनले अब कसैलाई समर्थन नगरी आफ्नो ढंगबाट अगाडी बढ्ने प्रतिक्रिया दिएका छन्। 

एमालेले उम्मेदवारी फिर्तालिएसँगै नेपाली काँग्रेस (विपी)सँग तालमेल हुने चर्चा यतिबेला चलेको छ। काँग्रेस विपीका एक नेताका अनुसार पनि एमालेसँग चुनावी तालमेलबारे छलफल भइरहेको छ। ‘हामीले जिल्लाको प्रदेश सभा ‘क’ मा एमालेका उम्मेदवार पठान सिंह बोहरा र एमालेले प्रतिनिधि सभामा काँग्रेस विपीका कर्णबहादुर मल्ललाई सघाउने गरि गृहकार्य चलिरहेको छ’ ती नेताले भने। 

यस्तै प्रदेश सभा ‘ख’ मा एकीकृत समाजवादीका बागी उम्मेदवार डा तारा जोशीलाई सहयोग गर्ने समेत काँग्रेस विपीको तयारी छ। त्यसको बदलामा जोशी निकट नेता कार्यकर्ताले मल्ललाई सहयोग गर्ने गरी छलफल भइरहेको छ।

कमेन्ट लोड गर्नुस