कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु, ७ पक्राउ
धनगढी: कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।
मंगलबार उनी जंगलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतक डगौरासहितको केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएका भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक डगौराको शव जंगलमा उनीसँगै गएकाहरुले लुकाएको भन्ने खुलेको र ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।