‘रुसी आक्रमणमा ११ जनाको ज्यान गयो’, अझ ‘कडा प्रतिशोध’ लिने पुटिनको चेतावनी
एजेन्सी: युक्रेनमा आज सोमवार भएको रुसी आक्रमणमा परि कम्तीमा ११ जनाको ज्यान जानुका साथै झन्डै ६० जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ।
‘युक्रेनको भूमिमा रुसी महासङ्घले गरेको क्षेप्यास्त्र (मिसाइल) आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको ज्यान गएको छ भने झन्डै ६० जना घाइते भएका छन्’, राष्ट्रिय प्रहरी सेवाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुसी आक्रमणबाट परेको प्रभावको प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ।’
युक्रेनको राजधानी किभमा सोमवार बिहानै रुसले आक्रमण गरेको थियो। किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा परि राजधानीमा मात्र कम्तीमा पाँच जनाको ज्यान गएको छ। ‘किभमा रकेट आक्रमणबाट पाँच जनाको ज्यान गएको छ। ५१ जना घाइते भएका छन्। तीमध्ये ४२ जनालाई अस्पताल भर्ना गरिएको छ’, क्लिट्स्कोले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा भनेका छन्।
युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलका अनुसार सोमवारको आक्रमणमा किभ र आठ क्षेत्रमा ११ वटा महत्त्वपूर्ण पूर्वाधार संरचनामा क्षति पुगेको छ। ‘अस्थायी विद्युत्, पानी र सञ्चार कटौतीका लागि तयार हुन आवश्यक छ’, उनले सामाजिक सञ्जालमा लखेका छन्।
मस्कोले किभलाई दोषी ठहर्याएको रसिया र क्रिमिया जोड्ने पुलमा ठूलो विस्फोट र क्षति भएको दुई दिनपछि युक्रेनको सेनाले रुसले युक्रेनमा ८४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
किभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने पुटिनको चेतावनी
यसैबीच रुसी सेनाले युक्रेनमा सोमवार बिहानै घातक बमबारी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी दिएका छन्। युक्रेनमा सोमवार भएको महिनौँयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ। यो सप्ताहन्तमा रुसलाई मस्कोसँग जोडिएको क्रिमियाली प्रायद्वीपसँग जोड्ने एउटा महत्त्वपूर्ण पुलमा क्षति पुर्याएको विस्फोटको प्रतिशोध थियो।
युक्रेनी सेनाले देशका विभिन्न सहरमा रुसी सेनाले ८० भन्दा बढी मिसाइल प्रहार गरेको र रुसले छिमेकी बेलारुसबाट प्रक्षेपण गरिएका इरानी ड्रोन पनि प्रयोग गरेको जनाएको छ। पुटिनले आफ्नो सुरक्षा परिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै भन्नुभयो, ‘यसमा कुनै शङ्का नहोस्, यदि ‘आतङ्कवादी हमला’ को प्रयास जारी रह्यो भने रुसको प्रतिक्रिया कडा हुनेछ।’
पुटिनका पूर्ववर्तीसमेत रहेका नेता दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत युक्रेनमा पानी र बिजुली सेवा रोक्ने आक्रमण सुरुवातमात्र भएको चेतावनी दिएका छन्। रुसको रक्षा मन्त्रालयले युक्रेनी ऊर्जा, सैन्य कमान्ड र सञ्चार केन्द्रलाई निसाना बनाएको पुष्टि गर्दै आक्रमण सफल भएको र ‘आफ्नो उद्देश्य हासिल गरेको’ दाबी गरेको छ।