सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्ण मल्लको उजुरीबारे देउवाले मंगलबार दिउँसो २ भित्र प्रस्टीकरण दिनुपर्ने 

२०७९ असोज २४, ०६:३७ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे मंगलबारभित्र प्रस्टीकरण दिनुपर्ने भएको छ। सोमबार दउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको छ। 

देउवाका चुनावी प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेस बिपीका कर्णबहादुर मल्लले उजुरी जाहेर गरेका हुन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्। देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवाको मनोनयन खारिज हुनुपर्ने मल्लको माग छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवालाई सो उजुरीबारे प्रस्ट पार्न समय दिइएको छ। देउवाका लागि उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए। 

देउवाको उजुरीपछि निर्वाचन आयोगले आयोगले निर्णय लिने बताइएको छ। सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नुपर्नेछ।

यस्तो छ उजुरीपत्र 

कमेन्ट लोड गर्नुस