सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा काँग्रेस नेता केशवबहादुर चन्दको संघमा स्वतन्त्र उम्मेदवारी

२०७९ असोज २४, ०९:२१ खबर संवाददाता

धनगढी: प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा नेपाली काँग्रेसले गठबन्धनको टिकट नेकपा माओवादी केन्द्रलाई दिएपछि काँग्रेस बैतडीका नेता केशवबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडी पुगेर नेता चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

चन्दले असन्तुष्ट भएका नेपाली काँग्रेसका नेता कार्यकर्ताको सल्लाहमा उम्मेदवारी दर्ता गरेको बताएका छन्। दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै नेता चन्दले पार्टी केन्द्रले क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णय विपरित माओवादी केन्द्रलाई गठबन्धनको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

'पार्टी केन्द्रले दुईटा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णय विपरित माओवादी केन्द्रलाई संघमा टिकट दिने काम भयो,' उनले भने, 'यसरी नेपाली काँग्रेसका ३४ हजार बढी मतदाता भएको अवस्थामा निकै कम मतदाता भएको माओवादी केन्द्रलाई केन्द्रको टिकट दिनु गलत भएको महसुस गरि सबैसँग सल्लाह गरेर मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ, मैले लहडमा उम्मेदवारी दिएको होइन, सबैसँग परामर्श गरेर उम्मेदवार बनेको हुँ, मेरो उम्मेदवारी फिर्ता हुन्न।'

नेता चन्दले गठबन्धन बैतडीका मतदाताले पनि नचाहेको बताएका छन्। उनले सबैको मत आफूले पाउने र चुनाव जित्ने दाबी गरेको छन्। बैतडीमा लामो समयसम्म आफ्ना पिता भानबहादुर चन्दले राजनीति र समाजसेवा मार्फत योगदान गरेको आफूले पनि बैतडीका कुनै पनि नागरिकलाई दुःख कष्ट दिने काम कहिल्यै नगरेको, लोभ लालच नगरेर प्राप्त गरेको जिम्मेवारी इमानदारी पूर्वक पूरा गरेको बताउँदै काँग्रेस, एमाले, माओवादी र राप्रपालाई मत दिने मतदाताको रोजाइमा यो पटक आफू पर्ने विश्वास व्यक्त गरेका छन्।

यस अघि पाटन नगरपालिकामा नगरप्रमुख रहेको चन्दले सबैको सहयोगमा चुनावी प्रतिस्पर्धामा विजय हासिल गर्ने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस