डडेल्धुरामा एमाले र कांग्रेस बिपीको गठबन्धन तोडियो, क-कसले गरे मनोनयन दर्ता ?
धनगढीः नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन ।
उनी पूर्व राष्ट्रियसभा सदस्य पनि हुन्। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारीक रुपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्। यस्तै प्रतिनिधिसभामा कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन्।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति पनि हुन्। नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशिल सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो। त्यसपछि उनी कांग्रेस बीपीमा प्रवेश गरेका थिए।
प्रतिनिधिसभामा हालै एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किएका बिक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।