सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लगातार वर्षा, जयपृथ्वी राजमार्ग र विद्युत अवरुद्ध

२०७९ असोज २३, ०५:२९ खबर संवाददाता

धनगढीः लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत वित्थडचिर गाउँपालिकाको देउलेख, भारभिड, जयपृथ्वी नगरपालिकाको बाहुली खोला पक्की पुल नजिकै, दुर्गाथली गाउँपालिकाको झनाना बजार नजिकमा सडक पूर्ण अवरुद्ध भएको हो।

यस्तै छबिसपाथिभेरा गाउँपालिका १ जालेबगरमा पनि माथिबाट ढुंगा खस्ने र तलबाट सेती नदीले सडक कटान सुरु गरेकाले जोखिमयुक्त रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलराज चौधरीले बताए। सडक अवरुद्ध हुँदा काठमाडौं, कञ्चनपुर, कैलाली, बैतडी र डडेल्धुराका लागि छुटेका सवारी साधन ठाउँ ठाउँमा रोकिएका छन्।

सडक अवरुद्ध भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन्। अवरुद्ध सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो र लगातार पानी परिरहेकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच बुधबारदेखिको लगातारको वर्षाका कारण श्रीभावर नजिकै राष्ट्रिय प्रसारण लाइनको विद्युत अवरुद्ध भएको छ।
 

कमेन्ट लोड गर्नुस