प्रधानमन्त्री देउवासँग डडेल्धुरा आउन फुर्सद छैन, आरजूले मनोनयन दर्ता गर्ने
व्यस्त ‘सेड्युल’
धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ताका लागि डडेल्धुरा नआउने भएका छन्। व्यस्त ‘सेड्युल’का कारण डडेल्धुरा आउन फुर्सद नभएकाले देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला नआउने भएका हुन्।
देउवा आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट चुनाव लड्दै छन्। उनले वारेस नामामार्फत् चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाद्वारा दर्ता गराउने भएका छन्। कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजू देउवाको मनोनयनपत्र दाखिला गराउन शनिबार साँझ डडेल्धुरा पुगेकी छन्।
आइतबार दिउँसो २ बजे देउवाको मनोनयन कार्यक्रम रहेको बताइएको छ। देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन्। तर, अहिले देउवाविरुद्ध चुनावी मैदानमा दुई नयाँ अनुहार छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। मल्ल एमालेको समर्थनमा नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा होमिएका हुन्।