सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका ग्रामीण सडकहरु अवरुद्ध, दसैँ मनाउन गएकाहरु अलपत्र 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २१, ०२:३६ रोशन भट्ट

धनगढीः लगातारको वर्षाका कारण सुदूर पहाडका ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका मुख्य राजमार्गहरु सञ्चालनमा भएपनि ग्रामीण सडकहरु भने अवरुद्ध भएका हुन्। बुधबार रातिदेखि परेको वर्षाका कारण सुदूर पहाडका ग्रामीण सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। 

डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत बैतडी, बझाङ र दार्चुलाका ग्रामीण सडकहरु अवरुद्ध छन्। सडक अवरुद्ध भएका कारण आवागमन रोकिएको छ। विशेष गरी दसैँको टीका लगाउनका लागि घर गएकाहरु विभिन्न ठाउँमा फर्किन सकिरहेका छैनन्। दसैँकै दिनदेखि पानी पर्न थालेपछि टीका जमराका लागि गाउँ गएकाहरु उतै रोकिएका हुन्। 

सुदूर पहाडका अधिकांश गाउँमा ग्रामिण सडक छन्। सोही सडकहरु वर्षाका कारण अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए। ‘केही सडकहरु बन्द भएका छन्। सुचारु गर्नका लागि हाम्रो समन्वय भइरहेको छ। धेरै समस्या भने अहिले नै छैन,’ उनले भने। दुई रात, एक दिन लगातार परेको वर्षाका कारण डडेल्धुराको सदरमुकामदेखि विभिन्न गाउँ जोड्ने सडकहरु बन्द भएका छन्। विभिन्न स्थानमा खसेको पहिरोका कारण सवारी साधन सञ्चालन हुन नसकेका हुन्।

यस्तै डोटी सदरमुकामबाट केआइसिंह, बोगटान, शिखर, सायल, आदर्श गाउँपालिका जोड्ने सडक पनि प्रभावित भएका छन्। पालिका केन्द्रबाटसमेत विभिन्न गाउँ पुग्ने ग्रामिण सडक पनि अवरुद्ध भएका छन्। जसका कारण दसैँका लागि गाउँ फर्किएकाहरु समस्यामा परेका छन्। डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले भने अवरुद्ध सडक खोल्ने काम भइरहेको बताए। ‘केही भित्री सडक बन्द भएका छन्। स्थानीयको समस्यालाई बुझ्दै यातायात नियमित गर्ने काम भइरहेको छ,’ उनले भने। 

लगातारको वर्षाकै कारण अछामका ग्रामीणहरु सडकहरु पनि बन्द छन्। अछामबाट कर्णाली राजमार्ग जोड्ने सडकमा पहिरो खसेको छ। वर्षा पछिको पहिरोका कारण उक्त सडकखण्ड पनि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सवारी साधान सञ्चालन नभएपछि स्थानीयलाई समस्या भएको छ।

यस्तै बाजुरा, बझाङ, बैतडी दार्चुलाका ग्रामीण सडकहरु पनि आंशिक रुपमा अवरुद्ध भएका छन्। केही सडकमा सवारी सञ्चालन भएपनि दुर्घटनाको जोखिम छ। तर, सम्बन्धित निकायहरुले भने सवारी नियमित सञ्चालन गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। 

बुधबारदेखिको वर्षा भइरहेको सुदूर पहाडका मुख्य राजमार्ग भने सञ्चालनमा छन्। आंशिक रुपमा प्रभावित हुँदै आएका सडकहरुमा पनि नियमित सञ्चालनको प्रयास जारी रहेको दाबी गरिएको छ। मुख्य राजमार्गमा सवारी रोकिनुपर्ने अवस्था आएको छैन।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस