सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

२०७९ असोज २१, ०१:०९ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।

कमेन्ट लोड गर्नुस