दार्चुलाको चमेलिया नदीमा मानिसको खुट्टा भेटिएपछि...
धनगढी: दार्चुलाको चमेलिया नदीमा मानिसको खुट्टा भेटिएको छ। मंगलबार नदीमा मानिसको खुट्टा भेटिएको हो।
हिजो सोमबार उक्त नदीमा जिल्लाको शैल्यशिखर नगरपालिका-१ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा बेपत्ता भएका थिए। आज नदीमा मानिसको एउटा खुट्टा भेटिएको र उक्त खुट्टा बोहराकै हुनसक्ने भनी उनको अन्त्येष्टि गरिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदी क्षेत्रमा भेटिएको खुट्टा परिवारको जिम्मा लगाइएको र आज नै अन्त्येष्टि पनि गरिएको जानकारी प्राप्त भएको जनाएको छ । बोहरा देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए। सोही क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो।
राँगोलाई समात्न भनी चमेलिया नदीमा पसेका उनी नदीले बगाएर बेपत्ता भएका थिए। बोहरासँग नदीमा बगेको राँगो भने हिजै फेला परेको थियो।