सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्गको भौतिक प्रगति ३६ प्रतिशत मात्र 

२०७९ असोज १८, ०८:१५ कमल सावद

धनगढी: धनगढी उप–महानगरपालिकाको क्याम्पस चोक–कटनी खोला सात किलोमिटर सडक कालोपत्रका लागि २०७७ असार १४ गते सम्झौता भयो। २०७९ पुस १३ गतेभित्र सडक निर्माणको काम पूरा गर्न स्वच्छन्द जोशी जेभीसँग ३७ करोड ४२ लाख ८३ हजार नौ सय १४ रुपैयाँको लागतमा सम्झौता भएको थियो। तर हुलाकी राजमार्गको धनगढी खण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ।

धनगढीमा तीन किलोमिटर सडक चार लेनमा स्तरवृद्धिको काम जारी छ। धनगढी क्याम्पस चोक–कटानी खोला १२ किलोमिटर सडक खण्डको २०७७ असार १४ गते सम्झौता भयो। स्वच्छन्द जोशी जेभीसँग नै ३२ करोड ३० लाख ८३ हजार २ सय ४२ रुपैयाँको लागतमा सडक निर्माणको सम्झौता गरिएको थियो। हुलाकी राजमार्गको यो खण्डको भौतिक प्रगति २७ प्रतिशत मात्र पूरा भएको छ। 

क्याम्पस चोक–कटानी खोलाको अर्काे ठेक्का पनि १२ किलोमिटरको छ। स्वच्छन्द जोशी जेभीसँग २७ करोड ८५ लाख ६२ हजार ४ सय ९० रुपैयाँको लागतमा यो खण्ड निर्माणका लागि सम्झौता भएको थियो। यो खण्डको भौतिक प्रगति १७ प्रतिशत मात्र छ। भारतले एक लेनमा निर्माण गरेको यो सडक दुई लेनमा स्तरवृद्धि गरिदैछ। 

कान्द्रा–ठेकीपुर–सत्तिबजार–कर्णाली पुल सडकको लम्बाई १३ किलोमिटर छ। हुलाकी राजमार्गको यो खण्डको सडक निर्माणका लागि २०७७ असार १४ गते नै कालिका जोशी जेभीसँग ३२ करोड ६२ लाख ३९ हजार ६ सय ३८ रुपैयामा सम्झौता भएको छ। सम्झौता अनुसार यो सडक खण्डको निर्माणको काम २०७९ पुस १३ गते पूरा गर्नुपर्ने छ। तर भौतिक प्रगति १७ प्रतिशत मात्र छ। 

कैलालीको लम्की–टीकापुर खक्रौला ८ किलोमिटर स्तरवृद्धिका लागि २०७७ जेठ २८ गते सम्झौता भएको छ। ४० करोड १९ लाख ९१ हजार ६ सय १६ रुपैयाको लागतमा कालिका कुमार जेभीले २०७९ मंसिर २७ मा पूरा गर्नुपर्ने छ। लम्की–टीकापुर  खण्डको भौतिक प्रगति ६० प्रतिशत सकिएको छ। 

लम्की–टीकापुर–खक्रौला सडकको अर्काे खण्डमा १० किलोमिटर स्तरवृद्धिका लागि २०७७ जेठ २६ गते एपेक्स–खड्का–कृष्ण जेभीसँग सम्झौता गरिएको छ। ४० करोड ९९ लाख ९ हजार ६ सय ८३ रुपैया लागतको यो सडक निर्माणको काम २०७९ मंसिर २५ मा पूरा गर्न सम्झौता भएको छ। तर भौतिक प्रगति २४ प्रतिशत मात्र सकिएको छ। 

लम्की–टीकापुर–खक्रौला सडकको ११ दशमलव ७१ किलोमिटर सडक निर्माणका लागि राइमाझी–गाल्वा–जगदम्बा जेभीसँग २०७७ असार १४ गते सम्झौता भएको छ। ३३ करोड २० लाख ६६ हजार ६ सय ३० रुपैयाको लागतको यो सडक २०७९ पुस १३ गतेसम्म पूरा गर्नुपर्ने छ। तर अहिलेसम्म सडक निर्माणको काम २५ प्रतिशत मात्र पूरा भएको छ। लम्की–टीकापुर सडक खण्डको बस्ती तथा ट्राफिक जाम हुने क्षेत्रमा चार लेनमा सडक स्तरवृद्धि गरिदैछ। निर्माण व्यवसायीहरु मूल्यवृद्धिको विरोधमा उत्रिएपछि सडक निर्माणको काम अलपत्र पारिएको हो। 

कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–दैजी सडकको लम्बाई २० कलिोमिटर छ। शर्मा–राजेन्द्र जेभीसँग २०७३ फागुन १ गते ३६ करोड ४७ लाख ९९ हजार ४ सय ७१ रुपैयाको लागतमा सडक निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। २०७६ भदौ १५ गते भित्र सडक निर्माणको काम पूरा गर्न भनिएकोमा अझै भौतिक प्रगति ८५ प्रतिशत मात्र सकिएको छ। हुलाकी राजमार्गको यो खण्डमा २०७९ मंसिर २१ गतेसम्मका लागि समय थप गरिएको थियो। तर थप गरिएको समयमा सडक कालोपत्रको काम पूरा नहुने निश्चित भएको छ। 

मोहना नदी–डोकेबजार–बेलौरी–दैजी सडककै २० किलोमिटर सडक कालोपत्रका लागि २०७३ फागुन १२ गते सम्झौता भएको छ। ४१ करोड ४१ लाख ४९ हजार १२ रुपैयामा बाबाहंश–सिद्धि शाही जेभीसँग २०७६ भदौ २६ सम्म पूरा गर्न सम्झौता भएको छ। यो खण्डको २०९० असार ३० गतेसम्मका लागि समय थप गरिएको छ। सडक निर्माणको काम भने ७५ प्रतिशत सकिएको छ। 

कञ्चनपुरकै मोहनानदी–डोकेबजार–दैजी सडकको २२ किलोमिटर खण्डको भौतिक प्रगति ७५ प्रतिशत छ। २०७३ फागुन १ गते शर्मा–राजेन्द्र जेशीसँग ३८ करोड ५७ लाख ३ हजार २ सय ५८ रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो। २०७६ भदौ १५ मा सडक निर्माणको काम पूरा गर्नुपर्नेमा ७५ प्रतिशत मात्र काम सकिएको छ। २०८० असार ३० गतेसम्मका लागि यो खण्डको सडक निर्माणका लागि समय थप गरिएको छ। 

कैलाली–कञ्चनपुरमा निर्माणाधिन हुलाकी राजमार्गको भौतिक प्रगति ३६ प्रतिशत मात्र पूरा भएको छ। कैलालीमा सडकको स्तरवृद्धि तथा कञ्चनपुरमा सडक निर्माणको काम पूरा नभएको हो। हुलाकी राजमार्ग अन्तरगत कैलालीको धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईदेखि चार लेनसम्म स्तरवृद्धि गरिदैछ।

हुलाकी राजमार्ग योजना कार्यालयले स्तरवृद्धिका लागि २०७७ असारमा ठेक्का सम्झौता गरिएकोमा भौतिक प्रगति ३६ प्रतिशत पुगेको हो। धनगढीमा तीन किलोमिटर सडकलाई चार लेनमा स्तरवृद्धि गरिदैछ। कैलालीको अन्य क्षेत्रमा पनि सडक फराकिलो बन्दैछ। कञ्चनपुर खण्डको भने २०७३ फागुनमा सम्झौता गरिएको सडक निर्माणको काम बाँकी छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस