कैलालीमा चाडपर्वका बेला चोरीको खतरा, के गर्दैछ प्रहरी ?
धनगढीः शनिबार राति धनगढीको एक डिलरमा चोरी भयो। उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको मदिराको डिलरमा चोरी भएको हो। डिलरमा सटर तोडेर चोरी गर्ने समूहले नगदसहित केही सामान पनि चोरेको बताइएको छ।
डिलर सञ्चालकका अनुसार चोरले ४५ हजार भन्दा बढी नगद लगेको छ। भने, २५ हजार भन्दा बढीको सामान चोरिएको छ। उक्त डिलरमा चोरी गर्नेहरु सिसिटिभीमा समेत कैद भएको सञ्चालक सुमित पौड्यालले बताए। ‘४५ हजार नगद चोरी भएको छ। २५ हजार बढीको सामान पनि लगे। रातिको ३ बजे चोरी भएको देखिन्छ,’ उनले भने।
कैलालीमा चाडपर्व (दसैंतिहार) नजिकिएसँगै चोरी गर्ने समूहहरु सक्रिय भएका छन्। विषेशगरि यो अवधिमा आवातजावत बढी हुने गरेको छ। दसैं मनाउनका लागि जन्मघर फर्किने हुँदा आवातजावत बढ्ने गरेको हो। त्यसक्रममा पनि कतिपय नगद बोक्ने गरेका यात्रु तथा नागरिकहरु चोरीको सिकार बन्ने गरेका छन्।
यसै समयमा किनमेल पनि बढ्ने हुँदा कारोबार पनि बढी हुन्छ। त्यसकारण यो समय चोरको निशानामा जो कोही हुनसक्ने अवस्था हुन्छ। अहिले कैलालीका विभिन्न स्थानमा चोरीका घटना भइरहेका छन्। दसैकै लागि परदेशिएकाहरु पनि घर फर्किन्छन्। उनीहरुसँग पनि नगद रुपैयाँ हुन्छ। उनीहरुको नगद पनि चोरी हुने खतरा बढी देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायवउपरीक्षक वेदप्रकाश जोशीले बताए।
‘हाम्रो सक्रियता बढेको छ। सबै ठाउँमा सादा पोशाकका प्रहरी पनि परिचालन भएका छन्। यो समयमा यस्ता घटना हुने हुँदा हामी सचेत छौं। र, आम नागरिक पनि सचेत हुनपर्छ,’ उनले भने। कैलालीमा दसैं तिहार लगायत चाडपर्वको समयमा चोरी नियन्त्रण गर्न विगतदेखि नै चुनौती देखिन थालेको छ।
यो अवधरीमा धेरैले घर छोड्ने गरेका कारण पनि चोरी हुने गरेको हो। तर, प्रहरीले भने चोरी नियन्त्रणमा सक्रियता बढाएको दाबी गरेको छ। सादा पोशाकमा प्रहरी परिचालन गरेरसमेत सक्रियता बढाएको दाबी प्रहरीको छ। यस्तै सुरक्षा योजना लागु गरिएकाले पनि अपराध नियन्त्रणमा विषेश भूमिका खेलेको प्रहरीको भनाइ छ।
चाडपर्वको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरी सक्रियता आवश्यक छ। भने, आम नागरिकले पनि चनाखो बन्न जरुरी छ।