सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनका थप ४ वटा क्षेत्रलाई रुसले भोलि औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने

२०७९ असोज १३, ०७:३८ खबर संवाददाता

एजेन्सीः रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई भोलि शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने भएको छ। यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले भोलि पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिज्जिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ।

चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति पुटिनले भोलि हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले बताए। रुसी समर्थित अधिकारीहरूले यसअघि पाँच दिने जनमत सङ्ग्रहबाट लगभग ९९ प्रतिशत नागरिकले रुसमा गाभिने पक्षमा मतदान गरेको दाबी गरेका थिए। गाभिन लागेका क्षेत्रले युक्रेनको १५ प्रतिशत भू–भाग ओगट्छन्।

भोलि राष्ट्रपति कार्यालयमा हुने विशेष समारोहमा पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्नेछन्। बेलुकी साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको खबरमा उल्लेख छ।

जनमत सङ्ग्रह र युक्रेनका क्षेत्रलाई रुसमा गाभ्ने निर्णयको अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतले भने मान्यता दिएको छैन। अमेरिकाले जनमत सङ्ग्रहको कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ भने युरोपेली सदस्य राष्ट्रहरूले पनि आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस