सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाडेर गएका श्रीमानको बाटो कुर्दै कैलालीकी अमृता

२०७९ असोज १२, ०९:१२ रक्षा भट्ट

धनगढी: कैलालीको बौनियाबाट काम गर्न भनी अमृता साउद धनगढी आउँछिन्। धनगढी चौराहास्थित एक होटेलमा उनी काम पाउँछिन्। त्यसपछि उनी धनगढीमै कोठा भाडा लिएर बस्न थाल्छिन्। सोही क्रममा होटेलका सञ्चालकमध्येका एक जनासँग उनी नजिक हुन पुग्छिन्।

एक रात ती पुरुष अमृताको कोठा पुगेर ढोका ढकढकाउन थाल्छन्। रक्सी सेवन गरी आएका उनलाई देख्दा अमृता होटल फर्किन भन्छिन्। धेरै दिनदेखि त्यसरी उनको कोठामा आउँदै गरेका उनलाई अमृताले आफूसँग नबस्न भनी फर्काउने गरेकी हुन्छिन्। त्यो दिन पनि अमृता उनलाई होटेलमै फर्किन भन्छिन्। तर ती पुरुष मान्दैनन्। अमृतासँग दुई बेड भएका कारण त्यो दिन धेरै ढिपी गरेपछि ‘ठिकै छ राति आइहाल्यो सुत्न दिन्छुँ’ भनेर बस्न दिन्छिन्।

राति सँगै बसेका ती पुरुषले अमृतामाथि जबरजस्ती गर्छन्। सहमतिबिनै त्यो रात उनी अमृतासँग सम्बन्ध राख्छन्। त्यसपछि अमृताले ती पुरुषलाई आफूसँग बिहे गर्नका लागि आग्रह गर्छिन्। उनीहरु बिहे पनि गर्छन्। ती पुरुषले त्यसपछि अमृतालाई होटेलमा काम नगरी कोठामै बस्न भन्छन्। श्रीमानले भने बमोजिम उनी काममा जान छाडिदिन्छिन्।

बिहेको एक वर्ष बित्यो। एकदिन (यही असोज १० गते) ती पुरुष अमृतासँग झगडा गरी उनलाई कोठामा एक्लै छोडेर जान्छन्। उनी आफ्ना श्रीमान् खोज्न भनी केटाको घर पुग्छिन् तर उनी त्यहाँ भेटिदैनन्। अमृता ती पुरुषको घर गएका बेला उनी कोठामा आई आफ्ना लुगाकपडा लगेर गइसकेका हुन्छन्। अमृता भन्छिन्, ‘हामी दुवै जनासँग कोठाको चाबी थियो। उहाँ आएर आफ्ना लुगा, जुत्ता, सबै सामान लिएर जानुभएको रहेछ।’

श्रीमान भागेर घर पनि नगएका हुँदा उनको खोजीका लागि प्रहरीमा पनि निवेदन दिएको उनी बताउँछिन्। ‘घर जाँदा घरकाले यहाँ आएन भने, मैले प्रहरीमा खोज्दिन भनेर निवेदन पनि गरेर आएँ,’ उनले भनिन्। आफूलाई बच्चा पनि जन्माउन नदिई अहिलेसम्म तीन पटक गर्भपतन गर्न लगाइसकेको उनी बताउँछिन्। ‘बच्चा पनि जन्माउन नदिने मलाई, उसको घरमा पहिले नै श्रीमती रहिछिन्। तीन छोराछोरी पनि। मलाई झुक्याएर आफ्नो प्रेममा फसाई बिहे गर्यो। अहिले मलाई घर न घाटको बनाई छोडेर गयो,’ उनले रुँदै भनिन्।

ती पुरुषकी जेठी श्रीमतीसहित घरपरिवारले आफूलाई स्वीकारीसकेको र परिवारबाट कुनै दु्ःख दिने काम नगरिएको उनी बताउँछिन्। सँगै बस्दा आफूले दुई लाख नगदसहित एक तोला छ आना सुन पनि ती पुरुषलाई दिएको उनी बताउँछिन्। ‘घर बनाइरहेको भएर मसँग भएको पैसा अनि मेरी आमासँग सुन थियो, त्यो सुन अहिले सहयोगका लागि ल्याउन भन्यो। मैले पनि मम्मीसँग बहाना गरी सुन मागेर ल्याएर आएँ ’ आँसु पुछ्दै उनी भन्छिन्, ‘पछि दिइ त हाल्छन् भन्ने लाग्यो। अहिले यसरी बिजोग होला भन्ने मलाई के थाहा।’

उनी जसरी पनि आफ्ना श्रीमानलाई घर फर्किन आग्रह गरिरहेकी छिन्। अमृता आफूलाई यसरी चटक्कै छाडेर नजान भनिरहेकी छिन्।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस