सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू

२०७९ असोज ११, ०४:४९ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ। कैलालीमा मात्रै ट्राफिक प्रहरीले ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा काडाइ गरिएको दाबी प्रहरीको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले भने, ‘९ स्थानमा सहायता कक्ष स्थापना गरेका छौं। सवारीको यान्त्रिक जाँच पनि हुने गरेको छ। दुर्घटना न्यूनिकरणमा हामीले विशेष ध्यान दिएका छौं।’

चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ। विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो। भने, देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ। यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादकपदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको हो। दुर्घटना न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए।

‘सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ। सहायता कक्ष स्थापना भएका छन्। सवारी जाँच हुन्छ। मापसे गर्ने चालकलाई कारबाही भइरहेको छ। लामो दुरीमा दुई चालकको व्यवस्था अनिवार्य छ। टाइम कार्ड पनि लागु गरेका छौं’ उनले भने। अहिले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँचसमेत गर्ने गरेको छ।

चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो। ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ। यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ। लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ गरेको दाबी प्रहरी उपरीक्षक धितालको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस