सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिन्दगी [कविता]

२०७९ असोज १०, ११:३२ रक्षा भट्ट

सोच्दै नसोचेको मोडमा छ जिन्दगी
न मिलन न बिछोडमा छ जिन्दगी
कुरा नाफाका मात्रै हुन्छन् यहाँ
न घटाउ न जोडमा छ जिन्दगी ।

न दरबार न रोडमा छ जिन्दगी
न दुःख न मोजमा छ जिन्दगी 
के पाएँ के गुमाएँ थाहै छैन
बस् खाली अफसोचमा छ जिन्दगी ।

न दाउ न पेचमा छ जिन्दगी
न कुर्सी न मेचमा छ जिन्दगी
महंगा सोफा सजाइन्छन् यहाँ
आखिर घोचघाचमा छ जिन्दगी ।

न खुसी न पीडामा छ जिन्दगी
न प्रिय न घृणामा छ जिन्दगी 
मजाक मजाकमै चलिराछ यसै
बस् एउटा क्रिडामा छ जिन्दगी ।

न फूल न काँडामा छ जिन्दगी
न नजिक न टाढा भाछ जिन्दगी 
रंग्याउनु सबैलाई छ तर
न फिक्का न गाढा भाछ जिन्दगी ।

न एक्लो न भिडमा छ जिन्दगी
बिना कामको पिरमा छ जिन्दगी
यथार्थ अक्सर तीतो नै हुने
जे छ तस्बिरमा छ जिन्दगी ।

न चित्र न विचित्रको छ जिन्दगी
न बाहिर न भित्रको छ जिन्दगी
सधैँ एकनास हुनुपर्छ अरे
तर भिन्नाभिन्नै चरित्रको छ जिन्दगी ।

न सानो न ठुलो भयो जिन्दगी
न नदी न कुलो भयो जिन्दगी
फू गर्दा पनि उडी जाने
धर्तीको धूलो भयो जिन्दगी ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस