सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट वार्षिक २५ करोडका खसीबोका र च्याङग्रा निर्यात हुँदै

२०७९ असोज १०, ११:२३ खबर संवाददाता

वीरेन्द्र  भट्ट, धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा बाख्रा संकलन केन्द्र स्थापना गरेर बासुदेव कँडेलले वार्षिक ८ हजारको संख्यामा खसीबोका पोखरा र काठमाडौँ निर्यात गर्दै आएका छन्। विष्णु उमेश ट्रेडर्सको नामबाट डडेल्धुरा, बैतडी र दार्चुलाबाट खसीबोका संकलन गरेर कँडेलले २०७२ सालदेखि निर्यात गर्दै आएका हुन्। 

बडा दसैंको पहिलोदिन घटस्थापना सुरु भएसँगै यहाँबाट खसीबोका निर्यातको क्रम दीपावलीसम्मै हुने गरेको व्यवसायी कँडेल बताउँछन्। ‘दसैंतिहारमा सबैभन्दा बढी माग हुने गरेको छ भने अन्य समयमा पनि थोरथोरै निर्यात हुँदै आएको छ’ उनले भने।  

सुदूरपश्चिमबाट वार्षिक १२ हजारको हाराहारीमा खसीबोका र च्याङ्ग्रा देशका विभिन्न जिल्लामा निर्यात हुँदै आएको प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले जनाएको छ। गत वर्षको दसैंमा दार्चुला, बझाङ र बाजुराबाट मात्र  २ हजार ५ सय च्याङ्ग्रा काठमाडौँ, पोखरा र भैरहवा निर्यात भएको निर्देशनालयको तथ्यांक छ। 

यस वर्षको दसैंतिहारमा गरेर ५ हजार च्याङ्ग्रा निर्यात हुने अनुमान निर्देशनालयले गरेको छ। गत वर्ष खसीबोका र च्याङ्ग्रा निर्यातबाट यहाँका व्यवसायीले झण्डै २५ करोडको कारोबार गरेको निर्देशनालयका योजना अधिकृत पुष्करराज नाथले बताए। ‘यो प्रदेशबाट वर्षेनि यसरी नै खसीबोका र च्याङ्ग्रा देशका ठुला सहरमा निर्यात हुने क्रम बढ्दै गएको देखिन्छ’ उनले भने।

पछिल्लो केही वर्षयता निरन्तर रुपमा खसीबोका र च्याङ्ग्राको निर्यात बढ्दै गएको निर्देशनालयले जनाएको छ। चाडपर्वको समयमा मात्र नभएर अन्य समयमा समेत यहाँको उत्पादनले काठमाडौ, पोखरा, भैरहवा लगायतका ठुला सहरमा सहजै बजार पाउन थालेपछि बाख्रा उत्पादक किसान समेत बढ्दै गएको योजना अधिकृत नाथले बताए। 

सुदूरपश्चिमको उच्च हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राको माग वर्षेनि उच्च रुपमा बढ्दै गएको छ। प्रदेशका उच्च हिमाली क्षेत्रमा उत्पादित च्याङ्ग्रा स्वास्थ्यका हिसाबले सबैभन्दा बढी उपयुक्त देखिएकाले पनि पूर्वी सहरमा माग बढ्दै गएको देखिन्छ।
 

कमेन्ट लोड गर्नुस