सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजुले रणभूमि छाडेपछि कैलाली–५ मा कसको हुँदैछ इन्ट्री ? पन्तको चान्स कति ?

२०७९ असोज ९, ०६:२२ रोशन भट्ट

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ विगतदेखि नै चर्चामा छ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कैलाली–५ मा आकांक्षा देखाएपछि बढी चर्चामा रहेको हो।

राणा २०७४ मा कैलाली–५ बाटै चुनाव लडेकी थिइन्। त्यो बेला पराजित भएकी राणाले आउने चुनावमा पनि कैलाली–५ मै इच्छा देखाएकी थिइन्। तर, पछिल्लो समयमा भने राणा डडेल्धुराबाट समानुपातिकको सूचीमा परेकी छिन्। प्रत्यक्ष चुनावबाट पछि हटेकी राणाले कैलाली छोडेपछि गठबन्धनले नयाँ उम्मेदवार खडा गर्न सकेको छैन।

गठबन्धनमै कुरा नमिलेका कारण कैलाली–५ का लागि उम्मेदवार तयार गर्न नसकिएको नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले बताए। ‘हामी चुनावकै तयारीमा छौं। तालमेलको कुरा नमिलेका कारण यस्तै हो भन्न सकिन्न,’ उनले भने। सत्ता गठबन्धन बीचको सहमति अनुसार कैलाली–५ काँग्रेसको भागमा परेको छ।

प्रधानमन्त्री पत्नी राणा कैलालीबाट पछि हटेपनि अर्को उम्मेदवार दिन काँग्रेसलाई सकस भइरहेको छ। आरजु कैलालीबाट पछि हटेपछि विभिन्न नेताको चर्चा सुरु भएको छ। काँग्रेसका सुदूरपश्चिम महामन्त्रीसमेत रहेको नरनारायण शाह ‘मनु’ को नाम पनि कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सुनिन थालेको छ। कार्यकर्ता वृतमा उनको बढी चर्चामा छ।

यस्तै काँग्रेसबाट विजयी सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त पनि बलियो रुपमा देखिएका छन्। प्रतिनिधि सभाका लागि पन्तको सम्भावना बढी देखिएको छ। जिल्ला समितिले नै उनलाई अघि सारेको देखिन्छ। यद्यपी पार्टी केन्द्रको निर्णय हुन सकेको छैन। ‘मैले पाएको सूचनाअनुसार डिल्ली दाईको कुरा अगाडि चलिराको छ,’ जिल्ला सभापति भट्टले भने, ‘भाउजु स्वास्थ्यका कारण ब्याक हुनुभएको हो।’ कैलाली–५ काँग्रेसले पाएपछि गठबन्धनमा रहेका अन्य दलले भने वास्ता गरेका छैनन।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल कैलाली–५ को सवालमा मौन बसेका हुन्। काँग्रेस भने निरन्तर प्रयास रहेपनि अहिलेसम्म उम्मेदवार दिन सफल भएको छैन। उल्टै काँग्रेस भित्रैकै विभिन्न नेताको आकांक्षाका कारण कैलाली–५ अनिर्णयको बन्दी हुन पुगेको छ। प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गर्ने मिति नजिकिए पनि उम्मेदवार टुङ्गो लगाउन गठबन्धनलाई सकस भइरहेको छ।

यता काँग्रेसकै नेता क्षितिज भण्डारीले भने कैलाली–५ बाट उम्मेदवारी घोषणा गरिसकेका छन्। काँग्रेस जिल्ला समितिले स्वीकार नगरेपनि भण्डारी उम्मेदवारी घोषणा गरेका हुन्। ‘प्रतिनिधि सभामा म बाहेक अरुको उम्मेदवारी परेको छैन,’ भण्डारीले भने, ‘क्षेत्रीय सभापतिको साइन भएको कागज पनि उपलब्ध गराउनसक्छु।’ गठबन्धनको मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमाले भने चुनावको तयारीमा जुटिसकेको छ।

कैलाली–५ मा एमालेले नारदमुनी रानालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। ०७४ को चुनावमा विजयी राना यसपटक पनि चुनावी मैदानमा उत्रिने भएका छन्। काँग्रेसले कारबाही गरेका नेता पुष्करनाथ ओझाको पनि कैलाली–५ बाटै निर्वाचन लड्ने चर्चा छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस