सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको समानुपातिक बन्दसूचीः डडेल्धुराबाट संघमा देउवापत्नी !

२०७९ असोज ९, ०६:०५ खबर संवाददाता

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा एक जनाको नाम मात्रै अटाएको पाइएको छ। निर्वाचन आयोगमा काँग्रेसले ११० जनाको नाम प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा बुझाएकोमा प्रधानमन्त्रीको गृहजिल्लाबाट देउवापत्नी आरजु राणा देउवाको नाम मात्रै अटाएको हो। 

समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम आठौं नम्बरमा रहेको छ। जिल्ला कार्यसमिति डडेल्धुराले भने संघीय निर्वाचनमा समानुपातिक पुरुष खसआर्य सदस्यतर्फ केन्द्रीय सदस्य नैनसिंह महर र जनक कलौनीको नाम सिफारिस गरेको थियो। दलिततर्फ नरभान कामीको नाम सिफारिस गरिएको थियो। 

नेपाली काँग्रेसले प्रदेशसभा सदस्य निर्वाचनका लागि भने डडेल्धुराबाट समानुपातिकको बन्दसूचीमा ४ जनालाई राखेको छ। दुई महिला र दुई पुरुष गरि चार जनालाई बन्दसूचीमा राखेको पाइएको हो। महाधिवेशन प्रतिनिधि तारक बुढाऐरको नाम खसआर्यतर्फ पहिलो नम्बरमा छ।

यस्तै खसआर्य महिलातर्फ सरस्वती खड्का र राजु भट्ट जोशी तथा दलिततर्फ सन्तोष जैरुको नाम पनि बन्दसूचीमा अटाएको छ। काँग्रेसले निर्वाचन आयोगमा बुझाइएको प्रदेशसभा समानुपातिकतर्फको बन्दसूचीमा २१ जनाको नाम अटाएको छ।
 

कमेन्ट लोड गर्नुस