सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रेमगीत ३’ को टिमले भुवन केसीले दिएको सम्मान फिर्ता गर्ने

२०७९ असोज ९, ०२:४६ खबर संवाददाता

काठमाडौंः फिल्म रिलिजमा दुःख दिएको भन्दै ‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ। निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यमा योगदान पुर्‍याएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए। ‘अध्यक्षज्यूले हामीलाई प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो। हामीमाथि अन्याय भयो,’ निर्माता चन्दले भने, ‘उहाँले सम्मानअनुसार सहयोग गर्नुभएन। जसकारण हामीले हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्दैछौं।’

बोर्डले टोकन अफ लभ र खादाबाट सम्मान गरेको थियो। निर्माता चन्दले फेसबुकमार्फत पनि सम्मान फिर्ता गर्ने घोषणा गरेका छन्। यतिबेला बोर्ड र प्रेमगीत ३ समूहबीच आरोपप्रत्यारोप चर्किएको छ। अध्यक्ष केसीले हिन्दी संस्करणको सेन्सरमा अनावश्यक दुःख दिएको आरोप प्रेमगीत ३ का निर्माताको छ।

कमेन्ट लोड गर्नुस